असोज ०६, २०८१, आइतबार
               

परिवार पाल्न गाह्रो भो ःचेपाङ समुदाय

नेपाल फ्ल्यास
बैशाख २५, २०७७

ADVERTISEMENT

कोरोनाको जोखिम हुन नदिन लकडाउन जारी रहँदा दैनिक ज्यालादारी मजदुरी गरेर जीवनयापन गर्दै आएका परिवार समस्यामा परेका छन् । चितवनको इच्छाकामना गाउँपालिकाका चेपाङ समुदाय पनि यतिबेला  समस्यामा परेका छन् । 

बारीमा उब्जाएको कोदो, मकैले ६ महिना पनि खान नपुग्ने ती समुदायले बाँकी छ महिना भने अन्यत्र गएर दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने गर्छन् । तर अहिले ज्याला मजदुरी पनि गर्न नपाएपछि उनीहरूलाई बिहान बेलुका छाक टार्न मुस्किल परेको छ । 

गाउँपालिकाले एक महिनाअघि १० केजी चामल वितरण गरेका थिए । तर १० केजी चामल सकिसकेकाले अब घरमा चुल्हो बल्न नसक्ने अवस्था आएको दैनिक ज्याला मजदुरी गरी चारजनाको परिवार पाल्दै आउनुभएको इच्छाकामना–३ धुषाका गमबहादुर चेपाङले बताए । अहिले काम गर्न नै नपाएपछि बिहान बेलुका छाक टार्न मुस्किल भएको उनको भनाइ छ । 

अर्का स्थानीय सिद्धान्त चेपाङका अनुसार यहाँका ती समुदायका केहीले फलाएको तरकारीसमेत बजारमा बिक्री गर्न पाएनन् । बेच्ने बेला भएको काँक्रो बोटमै कुहिएर खेर गएको उनको भनाइ छ ।

धुषमा मात्र ५३ घर ती समुदायका परिवार छन् । अधिकांशले दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका छन् । 

गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले भने चेपाङ समुदाय मात्र नभएर दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्दै आएका सम्पूर्ण परिवारका सदस्यलाई  गाउँपालिकाले विकास निर्माणका काममा लगाउने जानकारी दिइन् ।

अब गाउँपालिकाले विकास निर्माणका काम पनि सञ्चालन गर्ने र गाउँपालिकाभित्रका विपन्न दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्दै आएका विपन्नलाई रोजगार दिइने  बताइन् । 

    


कस्तो लाग्यो ?

यो पनि