बैशाख २१, २०८१, शुक्रबार
               

बुद्धजयन्तीमा भीभीआइपीहरुको यस्तो शुभकामना सन्देश

नेपाल फ्ल्यास
बैशाख २५, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  दुई हजार ५६४औँ बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरेकी छिन् ।

आजको यस दिनले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका पथमा अघि बढ्न हामी सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्ने अपेक्षा उनले बुद्धजयन्तीको शुभकामना सन्देशमा व्यक्त गरेकी छिन् । बौद्धदर्शनका प्रवत्र्तक तथा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास पनि उनले व्यक्त गरेकी छिन् । 

विश्वव्यापी महामारीका रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड१९)को महाविपत्तिबाट सम्पूर्ण विश्वले शीघ्रातिशीघ्र मुक्ति पाउने कामना गर्दै राष्ट्रपतिले बुद्धजयन्तीका यस अवसरमा एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महाभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।

बन्दाबन्दी पालना गरी उभौली मनाइने अपेक्षा

राष्ट्रपति भण्डारीले नेपालका आदिवासी किराँत समुदायको पवित्र एवं महान् उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण राई, लिम्बू, सुनुवार, याक्खालगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन् । 

प्राकृतिक ऋतुचक्रसँग तादात्म्यता कायम गरी मनाइने यस प्रकारका सांस्कृतिक पर्वले प्रकृति र वातावरणको संरक्षण गर्दै दिगो विकासतर्फ अग्रसर हुन अभिप्रेरित गर्नाका साथै हाम्रो देशको सांस्कृतिक विविधतालाई कायम राखी समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्‍याउँछ भन्ने विश्वास उनले व्यक्त गरेकी छिन् ।

कोभिड–१९को रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा रहेको यस असहज परिस्थितिमा सरकारको आग्रहबमोजिम सोको पालना गर्दै सबैले सामाजिक तथा भौतिक दूरी कायम गरी आआफ्ना घरभित्रै रहेर पर्व मनाउने अपेक्षा राष्ट्रपतिले राखेकी छिन् । उभौली पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक सांस्कृतिक ऐक्यबद्धतालाई सुदृढ गर्दै समृद्ध र सभ्य समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि उनले व्यक्त गरेकी छिन् ।

उपराष्ट्रपतिको शुभकामना

उपराष्ट्रपति नन्दबहादुर पुनले सत्य, अहिंसा र सदाचारका आदिपुरुष गौतमबुद्धले देखाउनुभएको सद्मार्ग हामी सबैका लागि सदैव अनुकरणीय र मननीय रहिआएको बताएका छन् । २५६४ औँ बुद्ध जयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले विश्वभरका मानिस भौतिक र आत्मिक सुख शान्तिको खोजीमा रहेका वर्तमान विश्व सन्दर्भमा गौतम बुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व र सान्दर्भिकता झनै बढेर गएको बताएका छन् । 

कोरोना भाइरसविरुद्ध लड्न र विजय प्राप्त गर्न सिङ्गो मानव समुदाय एकताबद्ध हुन र धैर्य गर्न आवश्यक रहेको भन्दै उनले कोरोना भाइरसविरुद्ध लड्नु परिरहेको कठिन परिस्थितिमा गौतम बुद्धले दिएका उपदेश अझै सान्दर्भिक बनेको उल्लेख गरेका छन् । 

उपराष्ट्रपतिले गौतमबुद्धले दिएको उपदेशलाई हृदयङ्गम् एवं आत्मसात् गर्न सकिएमा कोरोना भाइरसलगायत मानव समुदायका साझा शत्रुविरुद्ध लड्न प्रेरणा मिल्नुका साथै राष्ट्र तथा विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको स्थापना हुने विश्वास व्यक्त गरेका छन् । 

यसैगरी आजै परेको किराँत समुदाय (राई, लिम्बू, सुनुवार र याक्खा)को ठूलो पर्व उभौली तथा चण्डी पूर्णिमाको अवसरमा शुभकामना दिँदै उनले देश विदेशमा रहेका सम्पूर्ण किराँत समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । उपराष्ट्रपतिले बुद्ध जयन्ती र उभौली पर्वले कोरोना भाइरविरुद्ध लड्न तथा शान्ति र समृद्धिको मार्गमा अगाडि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गरेका छन् ।  

प्रधानमन्त्रीको शुधकामना 

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीविरुद्ध जुध्न र मानवताको पक्षमा ऐक्यबद्धता प्रदर्शन गर्न बुद्धजयन्तीले थप प्रेरित गरिरहेको समेत उल्लेख गरेका छन् । 

आज २५६४औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको पनि बताए ।

संयुक्त राष्ट्रसङ्घको संलग्नतामा तर्जुमा गरिएको लुम्बिनी विकास गुरुयोजनाको कार्यान्वयन भइरहेको जनाउँदै उहाँले विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतमबुद्धप्रति सम्मानसमेत व्यक्त गरेका छन् । 

सिङ्गो विश्व कोरोना भाइरसको सङ्क्रमण र महामारीबाट प्रभावित नभएको भए अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको भव्य आयोजना गरिरहेका हुने थियो भन्दै प्रधानमन्त्री ओलीले त्यस अवसर र सफलताबाट हामी बञ्चित हुनुपरेको उल्लेख गरेका छन् । 

“गत साल भियतनामको हनोइबाट यसको घोषणा गरेबमोजिम अन्तर्राष्ट्रिय वैशाख दिवसको तयारीमा लागिरहेका हुनेथियौँ । नेपाल भ्रमण वर्ष २०२० को एउटा महत्वपूर्ण कार्यक्रमका रूपमा लुम्बिनी चहलपहलमय हुने थियो”, उनले सन्देशमा भनेका छन्, “भैरहवाको नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टमा कतिपय चार्टर्ड फ्लाइट अवतरण भइरहेका हुने थिए । बुद्धजयन्तीसँगै आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमले विश्व समुदायमाझ लुम्बिनी र नेपालको विशेष ध्यान खिचिएको अवस्था हुने थियो ।”

लुम्बिनी विश्व शान्ति शहरको परिकल्पनालाई साकार रूप दिन सार्थक प्रयास जारी रहेको उल्लेख गर्दै सन्देशमा भनिएको छ,  “हामीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बुद्धमार्गीसँगै पर्यटकको आकर्षणको केन्द्रका रूपमा लुम्बिनीको विकासमा उच्च महत्व दिइरहेका छौँ ।”

प्रधानमन्त्री ओलीले लुम्बिनी सिद्धार्थ गौतमबुद्धको जन्मस्थलसँगै बुद्ध दर्शनको उद्गमस्थल रहेकाले विश्वको ध्यान जानु जरुरी रहेको बताउँदै सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पु¥याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय वैशाख दिवस ९द डे अफ भेसाक० का रूपमा मनाउने घोषणा गरेको उल्लेख गरे ।

उनले यस वर्षको बुद्धजयन्ती राष्ट्रव्यापी लकडाउन भइरहेको र अन्तर्राष्ट्रिय उडान आवागमनसमेत रोकिएको बन्दप्रायः अवस्थामा मनाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताए । 

प्रचण्डको शुभकामना

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्ने र कोरोनाविरुद्ध विजय प्राप्त गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् ।

सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सदभाव र सहिष्णुता नेपाली समाजको विशेषता हो भन्दै उनले यही विशेषताले कोरोना भाइरसविरुद्ध लड्ने ताकत र ऊर्जा पैदा हुने बताएका छन् । बुद्ध जयन्ती र उभौली पर्वको उपलक्ष्यमा बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

प्रचण्डको सन्देशमा बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरु पहिल्याएकाले बुद्धप्रति सबै नेपालीले गर्व गर्न सकेको उल्लेख छ ।

प्रचण्डले २५६४ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली समुदाय तथा विश्वभरका बौद्धमार्गीहरुमा र आज नै परेको किराँत समुदायको उभौली पर्वको उपलक्ष्यमा सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको कामना गरेका छन् ।

देउवाको शुभकामना

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिगो शान्ति बिना मुलुकको समग्र विकास सम्भव नहुने भन्दै आफ्नो पार्टीको पहिलो प्राथमिकता नै शान्ति भएको उल्लेख गरेका छन् ।

बुद्ध जयन्तीको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उनले बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भइरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना गरेका छन् । शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रा सामु थुप्रै अवसर रहेको बताउँदै सभापति देउवाले हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गर्नुपर्ने उल्लेख गरेका छन् । 

नेपाललगायत विश्वका सबै देश अहिले कोभिड–१९ बाट प्रताडित रहेको बताउँदै उनले लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दुरी कायम गरेर यो विश्वव्यापी महामारीलाई परास्त गर्नु आजको आवश्यकता भएकामा जोड दिएका छन् । उच्च मनोबलका साथ आपसी सहकार्य र एकता बिना यो कार्य सम्भव नहुने र यसमा सबै सचेत छौँ भन्नेमा सभापति देउवाले विश्वास व्यक्त गर्नुभएको छ । 

शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतमबुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालन गर्न र अशान्ति, हत्या तथा हिंसाको विरोध गरौँ भन्दै उनले बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि