जेठ ०६, २०८१, आइतबार
               

उखु किसानले पाएनन् भुक्तानी

नेपाल फ्ल्यास
बैशाख २२, २०७७

ADVERTISEMENT

उधारोमा उखु दिएबापत  चिनी उद्योगबाट पाउनुपर्ने रकम नपाएपछि नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)का उखु किसान मर्कामा परेका छन् ।  तीन  चिनी उद्योगबाट ४० करोड बराबरको रकम किसानले पाउनुपर्ने बाँकी भए पनि समयमै  भुक्तानी नभएपछि समस्यामा परेको उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादव बताउछन्  ।

समितिका अनुसार वाग्मती चिनी उद्योगले  २५ करोड, लुम्बिनी चिनी उद्योगले १० करोड र इन्दिरा चिनी मिलले पाँच करोड बराबरको भुक्तानी दिन बाँकी छ । तीमध्ये वाग्मतीको आर्थिक वर्ष २०७६–०७७, लुम्बिनीको  २०७५–०७६ र इन्दिराको आर्थिक वर्ष २०७५–०७६ मा किसानको उखु खरीद गरेबापतको रकम  भुक्तानी दिन बाँकी देखिएको हो   ।

सबै उद्योगले उत्पादन गरेको चिनी बिक्री गरिसके पनि हालसम्म किसानले भुक्तानी पाएका छैनन् । चर्को व्याजदरमा ऋण लिएर खेती गरेका कारण समयमा भुक्तानी नहुँदा दोहोरो मारमा परेको प्रतापपुर–७ छिवनीका किसान पप्पु गुप्ता बताउछन्  । 

यहाँ चार ठूला उद्योग रहेकामा मोहिनी चिनी उद्योगको उत्पादन बन्द छ भने लुम्बिनी  र इन्दिराले चालु आवमा चिनी उत्पादन गर्न सकेका छैनन्  ।   चालु आर्थिक वर्षमा नवलपरासीमा वाग्मतीबाहेक अन्य तीन वटै उद्योगको उत्पादन बन्द छ ।   

चिनी उद्योगले समयमै रकम भुक्तानी नदिने प्रवृत्ति बढ्दै गएकाले सरकारले मूल्य निर्धारण गर्नेक्रममा उद्योगलाई भुक्तानी गर्ने समयावधिसमेत तोक्नुपर्ने प्रतापपुर– ७ झलनीपुरका उखु किसान मदनचन्द्र कोइरीको भनाइ छ । 

वाग्मती चिनी उद्योगले तत्कालका लागि पेश्कीस्वरुप किसानलाई केही रकम उपलब्ध गराउने जनाएकोे छ ।  सरकारले उखुको मूल्य प्रतिक्विन्टल  ४७१ रुपैयाँ यस अगावै निर्धारण गरिसकेको थियो  ।  वाग्मतीले पहिलो चरणमा  २०७७ असार मसान्तभित्र  प्रतिक्विन्टल ३७१ रुपैयाँको दरले भुक्तानी गर्ने  र बाँकी आउँदो दशैँसम्म गर्ने तयारी गरिएको महाप्रबन्धक टंकनाथ काफ्लेले बताए । 

पश्चिम नवलपरासीमा सुस्ता , प्रतापपुर, पाल्हीनन्दन र सरावल गाउँपालिकामा उखु खेती गरिन्छ । रामग्राम नगरपालिकाको केही भागमा पनि उखु खेती गरिँदै आएको छ ।   पछिल्लो पटक यस क्षेत्रमा उखु उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका अनुसार चालु आव २०७६– ७७ मा कुल  तीन हजार ६२३ हेक्टर क्षेत्रफलमा एक लाख ७१ हजार ३५० मेट्रिक टन उखु उत्पादन भएको तथ्याङ्क  छ । यसैगरी अघिल्लो आव २०७५/०७६ मा  कुल तीन हजार ६६८  हेक्टर क्षेत्रफलमा एक लाख ७३ हजार ४९० मेट्रिक टन उखु उत्पादन भएको थियो ।  


कस्तो लाग्यो ?

यो पनि