असोज ०६, २०८१, आइतबार
               

सिद्धार्थ राजमार्गका काम धमाधम हुँदै

नेपाल फ्ल्यास
बैशाख २२, २०७७

ADVERTISEMENT

बुटवल । बन्दाबन्दीका समयमा पनि पाल्पा–बुटवल सिद्धार्थ राजमार्ग र तानसेन– तम्घास सडक सुधारका काम भइरहेको छ । डिभिजन सडक कार्यालय पाल्पामार्फत सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्ड तथा पुल निर्माण र सो सडकखण्डका गौडेपुल, कालीमाटी र चर्चरे क्षेत्रका बढी जोखिम र खतरायुक्त मानिएका घुम्तीको कटान भइरहेको छ । 

उक्त सडकखण्डको चिडियाखोलादेखि झुम्सासम्मको नाली मर्मत तथा निर्माण पनि भइरहेको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख मुकुन्दराज अधिकारी बताउछन् । उनका अनुसार दोभानखोला, कचलखोला र तिनाउखोलाको पुल निर्माण निर्बाध भइरहेको छ ।  ‘लकडाउनका समयमा बाहिरका मजदुरहरू आफ्नै घर गएपछि काम नरोकियोस् भनेर स्थानीयस्तरका मजदुरबाट काम भइरहेको छ, निर्माण सामग्री बुटवल प्रशासन कार्यालयसँग समन्वय गरेर ल्याइएको छ”, डिभिजन प्रमुख अधिकारीले भने।

लकडाउन अवधिमा मात्रै सो खण्डको कालीमाटी क्षेत्रमा चारभन्दा बढी जोखिमयुक्त घुम्ती कटान भइसकेको छ । जिल्लाका करिब एक दर्जन योजना तत्काल सञ्चालन गर्ने तयारीमा रहेको डिभिजन प्रमुख अधिकारीको भनाइ छ । 

तानसेन– तम्घास सडकखण्डअन्तर्गत तानसेनदेखि भैरवस्थानसम्म एक लेनको सडकलाई चौडा बनाउने, साँघुरा सडक तथा घुम्ति कटान गर्ने, विभिन्न स्थानमा पर्खाल लगाउने, नाली काट्नेलगायत काम भइरहेका छन् ।   तानसेनको ढुङ्गाखानीदेखि भैरवस्थानसम्मको तीन किलोमिटर सडक चौडा पार्ने काम अन्तिम चरणमा पुगेको छ । यहाँ दैनिक छदेखि सातसम्म स्काभेटरको प्रयोग गरी काम धमाधम भइरहेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि