असोज ०६, २०८१, आइतबार
               

असिनाले ५३ लाखको अन्नबाली क्षति

नेपाल फ्ल्यास
बैशाख १७, २०७७

ADVERTISEMENT

बागलुङ जिल्लाको काठेखोला गाउँपालिकमा असिनाका कारण ५३ लाख १८ हजार ३२० बराबरको  अन्नबाली क्षति भएको छ । गत वैशाख ८ गते परेको असिनाले गाउँपालिकाको वडा नं २ भिमापोखरा र वडा नं ३ को धम्जामा लगाइएको बालीमा क्षति पुर्‍याएको थियो । असिनाले किसानको अन्नबाली, तरकारी र फलफूलमा क्षति पुर्‍याएपछि गाउँपालिकाले स्थलगतरूपमै गएर क्षतिको विवरण सङ्कलन गरेको काठेखोला गाउँपालिकाले जनाएको छ । 

असिनाका कारण धम्जामा २५ लाख ९३ हजार ४२० र भिमपोखरामा  २७ लाख २४ हजार ९००  बराबरको अन्न, फलफूल तथा तरकारी नष्ट भएको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले जानकारी दिए । “हामीले स्थलगत रूपमा नै वडा कार्यालयको संयोजनमा क्षतिको विवरण सङ्कलन गरेका हौँ”, विश्वकर्माले भने, “गाउँपालिकाको फापर खेतको क्षतिको विवरण अउन बाँकी छ । क्षतिअनुसार गाउँपालिकाले किसानलाई राहत प्याकेज ल्याउनेछ ।”  

गाउँपालिकाको धम्जा र भीमपोखरामा गहुँ, जौँ, केराउ, मुसुरो दाल, आलु, प्याज, लसुन, तोरी, काउली, बन्दा, सुन्तलाको फूल, कागती, सिमी र मकैका बिरुवामा क्षति पुर्‍याएको थियो । गाउँपालिकाले तत्कालै असिनाले पुर्‍याएको क्षतिका कारण समस्यामा पुगेकालाई कोरोना रोकथाम तथा राहतकोषबाट खाद्यान्न प्रदान गर्ने र पछि कृषि उपजका लागि आवश्यक मल, बीउजस्ता राहतका कार्यक्रम ल्याउने योजना रहेको गाउँपालिकाले जनाएको छ । ठूलो मात्रमा अन्नबाली तथा तरकारीमा भएको क्षतिको विवरणअनुसार नगद अनुदानसमेत दिइने गाउँपालिका प्रमुख प्रशासकीय विश्वकर्माको भनाइ छ । 

सोही दिन परेको असिनाको कारण जिल्लाको गलकोट नगरपालिकाका वडा नं ९, १० र ११ वडामा समेत ठूलो क्षति पुर्‍याएको छ । गलकोट नगरपालिकाले स्थलगतरूपमै पुगेर क्षतिको विवरण सङ्कलन गरिरहेको नगर उपप्रमुख रेणुका काउचाले जानकारी दिए । क्षति भएको विवरणका आधारमा गलकोट नगरपालिकाले समेत किसानलाई राहत प्याकेज ल्याउने योजनामा रहेकाे काउचाको भनाइ छ । असिनाका कारण आफूले लगाएको तरकारी खेती पूरै नष्ट भएका कारण समस्यामा परेको गलकोट नगरपालिका–९ बरेखानीका युवा किसान मित्रलाल गौतमले बताए । उनले तीन तहको सरकारले समस्यामा परेका कृषकलाई राहत ल्याउन मागसमेत गरे ।   


कस्तो लाग्यो ?

यो पनि