जेठ ०७, २०८१, सोमबार
               

क्वारेन्टाइनमा खानेपानी अभाव, बस्नलाई बेन्च मात्र

नेपाल फ्ल्यास
बैशाख १७, २०७७

ADVERTISEMENT

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकुको स्वामीकार्तिक माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा खानेपानीको अभाव हुँदा क्वारेन्टाइनमा बस्नेले दैनिक कष्ट भोग्दै आएका छन् । क्वारेन्टाइनमा खान, बस्न र लत्ताकपडाको उपलब्धताभन्दा पनि खानेपानीसमेत अभाव रहेको पाइएको छ । जुकुमा सञ्चालनमा रहेको क्वारेन्टाइनमा खानेपानी नभएको क्वारेन्टाइनमा बसेका दिनेश खत्रीले बताए ।

उनले तीन दिनदेखि गाउँपालिका र वडा कार्यलयले क्वारेन्टाइनमा राखे पनि खान, लत्ताकपडासमेत आफ्नै घरबाट ल्याउनुपरेको गुनासो गरे । जिल्ला बाहिरबाट आएर गाउँपालिकाका वडाले निर्माण गरेका क्वारेन्टाइनमा बसेर आधारभूत आवश्यकता खानेपानी, खान, बस्न र ओछ्याउनेसमेतको व्यवस्था नभएकाले कष्टकररूपमा दैनिकी बिताउनुपरेको नरेश खत्रीले दुखेसो गरे । 

बाजुराको खप्तड छेडेदह गाउँपालिकामा बनाइएका क्वारेन्टाइन व्यवस्थित नभएको गुनासो आएको छ । गाउँपालिकाले दशरथ मावि, मष्टेश्वरी मावि, देवस्थलीलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिहेको छ ।

कतिपय ठाउँमा राखिएका क्वारेन्टाइनमा खाली बेन्च मात्र भएको स्थानीयले गुनासो गरेका छन् ।  बस्ने बेञ्चबाहेक अन्य कुनै पूर्वाधार नभएको र अमानवीय व्यवहार गरिएको उनीहरुले आरोप लगाए । हाल धनगढीबाट आएका २५ जना सोमबारबाट उक्त क्वारेन्टाइनमा बस्न थालेका छन् तर उनीहरुको बसाइ र सुरक्षाको अवस्था असुरक्षित र अव्यवस्थित छ ।

क्वारेनटाइनमा बस्दा स्वास्थ्य जाँच गर्नुपर्ने भए पनि कुनै पनि जाँच नगरेको र जाँचबिना नै क्वारेनटाइनमा राखिएको उनीहरुको गुनासो छ । २५ जनामा महिला र बालबालिका भए पनि व्यवस्थापन भने केही नभएको पाइएको छ ।  

स्वामिकार्तिक खापर गाउँपालिका–३ का वडाध्यक्ष वीरजित कट्टेलले क्वारेन्टाइनमा बसेकाका लागि खानेपानी, ओढ्नेओछ्याउने, खान र बस्नको व्यवस्था गरेको बताए ।


कस्तो लाग्यो ?

यो पनि