असोज ०६, २०८१, आइतबार
               

सांसद 'अपहरण' जाहेरी सरकारी वकिल कार्यालयद्वारा पनि अस्वीकार

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीले दर्ता गर्न नमानेपछि जनता समाजवादीका सांसद डा.सुरेन्द्र यादवसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अपहरणको जाहेरी दिन पुगे पनि त्यहाँ पनि दर्ता भएन ।

कानुन व्यवसायीहरूको राय अनुसार मङ्गलबार सरकारी वकिल कार्यालय पुगेका डा. यादवसहित समाजवादी पार्टीका नेताहरूलाई जाहेरी दर्ता नगरी फिर्ता गरिएको छ । नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी लिएर सांसद यादव तथा जनता समाजवादीका शीर्ष नेताहरू आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं गएका थिए । तर त्यहाँ दर्ता नभएपछि उनीहरू सरकारी वकिलको कार्यालयमा पुगेका हुन् ।

काठमाडौं प्रहरीले घटना महोत्तरीमा भएको भन्दै जाहेरी लिन अस्वीकार गरेको थियो । सरकारी वकिलको कार्यालयमा नवगठित जनता समाजवादी पार्टीका नेताहरू उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, अधिवक्ता दिनेश त्रिपाठीलगायत गएका थिए ।

तर सरकारी वकिलको कार्यालय यो निवेदनको बारेमा दर्ता गर्न मिल्ने-नमिल्न त्यसको विषयमा बुझेर खबर गर्ने जनाएर फिर्ता गरेको थियो ।

तत्कालीन समाजवादी पार्टी फुटाउने उद्देश्यले पूर्वप्रहरी महानिरीक्षक खनालमार्फत डा. यादवलाई फकाएर काठमाडौं ल्याउन सांसदहरूको टोली गत बुधवार बिहान महोत्तरी पुगेको थियो । प्रलोभन र दबाबमा पारेर आफूलाई काठमाडौँ ल्याएको र म्यारियट होटेलमा राखिएको डा. यादवको जाहेरीमा उल्लेख छ ।

मुलुकी फौजदारी (कार्यविधि) संहिता ऐन २०७४ को दफा ५ मा सम्बन्धित प्रहरी कार्यालयले जाहेरी दर्ता नगरेमा जिल्ला सरकार वकिल कार्यालय तथा माथिल्लो प्रहरी कार्यालयमा जाहेरी दिन सकिने उल्लेख छ । सोहीअनुसार सांसद यादव सरकारी वकिल कार्यालयमा जान गएका थिए ।

ऐनको दफा ५ मा भनिएको छ, ‘दफा ४ को उपदफा (१) बमोजिम दिएको जाहेरी दरखास्त वा सूचना सम्बन्धित प्रहरी कार्यालयले दर्ता गर्न इन्कार गरेमा जाहेरी दरखास्त वा सूचना गर्ने व्यक्तिले त्यस्तो ब्यहोरा खुलाई सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालय वा त्यस्तो जाहेरी दरखास्त वा सूचना दर्ता गर्नुपर्ने प्रहरी कार्यालयभन्दा माथिल्लो तहको प्रहरी कार्यालयमा जाहेरी दरखास्त वा सूचनासहित उजुरी गर्न सक्नेछ ।’

सरकारी वकिल कार्यालयले पनि जाहेरी नलिएमा सर्वोच्च अदालत जाने उनीहरूको तयारी छ । सर्वोच्चको पूर्ण इजलास बैठकले मंगलबारदेखि सबै प्रकारका रिट दर्ता र सुनुवाइ गर्ने निर्णय गरिसकेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि