काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्याय २५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौंले २५ हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएपछि उपाध्याय धरौटी बुझाएर रिहा भएका अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।
न्यायाधीश भरतमुनि खनालको इजलासले उपाध्यायले अभियोग अस्वीकार गरे पनि तत्काल निर्दोष रहेको भन्न सकिने अवस्था नरहेको भन्दै थपपछि ठहर बमोजिम हुने गरी अहिलेलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनी साइबर अपराधको आरोपमा पाँच दिनअघि प्रहरीको केन्द्रीय साइबर ब्युरोले उपाध्यायलाई ललितपुरको कुसुन्तीमा रहेको निवासबाट पक्राउ गरेको थियो ।