राहत वितरणका विषयमा स्थानीयबीच विवाद हुँदा एक प्रहरी सहायक निरीक्षक घाइते भएका छन् । रामग्राम नगरपालिका–१७ देवगाँवमा राहत वितरणका विषयमा विवाद भई झडप हुँदा असई चामबहादुर ओलीको टाउकोमा चोट लागेको हो ।
नगरपालिकाले राहत वितरण गरेको थियो । शुक्रबार स्थानीयले सबैलाई राहत सामाग्री नपुगेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका थिए । हुनेखानेले नै राहत पाएको र वास्तविक विपन्नले राहत नपाएको भन्दै स्थानीयले आक्रोश पोखेका थिए । नगरपालिकाले राहत वितरण बुधबारदेखि गरेको थियो ।
ताला खोल्न वडा कार्यालय पुगेका प्रहरीमाथि स्थानीयको समूहले नै आक्रमण गरेको बताइएको छ । क्रिकेटको ब्याटले ओलीमाथि प्रहार भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीमाथि आक्रमण गरी घाइते बनाउने एक महिलासहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।