काठमाडौं । सरकारले समूहमा गरिने पूजा र प्रार्थना नगर्न अपिल गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले समूहमा नमाज नपढ्ने र भोज नगर्ने विषयमा मुस्लिम आयोगसँग पनि छलफल भएको बताएका छन् ।
मुस्लिम समुदायको प्रमुख चाड रमजान अप्रिल २३ बाट सुरु भई यो महिनासम्म चल्ने भएकाले उक्त चाडमा धर्मावलम्बीहरुलाई मस्जिद गएर समूहमा नमाज पढ्ने र अन्तिममा भोज गर्ने कार्य सम्बन्धमा मुस्लिम आयोगसँग छलफल गरेको उनले बताए ।
‘कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सकेसम्म घरमै बसेर नमाज पढ्न तथा आफ्नो धर्मअनुसारका पूजा गर्न स्वास्थ्य मन्त्रालय आग्रह गर्छ,’ प्रवक्ताले भने ।
मुस्लिम आयोग र मन्त्रालयका अधिकारीहरुबीच भएको छलफलमा नेपालमा रहेका जमातीहरुलाई कोरोना भाइरसको परीक्षण दायरामा ल्याउने सहमति भएको छ ।
साथै उनीहरु बसेको मस्जिद र आसपासका क्षेत्रमा पनि परीक्षण गर्ने र उनीहरुलाई मदरसामा क्वारेन्टाइनमा राखिनेछ । यसका लागि मुस्लिम आयोगले अनुगमन समितिसमेत बनाउनेछ र मस्जिदहरुमा गएर अनुगमन गर्नेछ ।