बारा । विपन्न परिवारलाई राहतमा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिका प्रमुख (मेयर) राजेश रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनलाई कलैयाबाट नियन्त्रणमा लिएको हो ।
उपमहानगरपालिका प्रमुख रायले राहतका नाममा कुहिएको (गुणस्तरहीन) चामल, दाललगायतका उपभोग्य वस्तु वितरण गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
राहत बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई चार वर्ष पुरानो दाल बेचेको पाइएपछि मेयर रायलाई मंगलबार पक्राउ गरिएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए ।
उनीमाथि लागेको अभियोगबारे सोधपुछ गर्न प्रमुख रायलाई जिल्ला प्रहरी कार्यालय, कलैयामा राखिएको छ ।
यसैबीच, प्रहरीले केही दिनअघि कलैया उपमहानगरपालिका ७ मा रहेको यादव आइस एन्ड कोल्ड स्टोरमा रहेको गुणस्तरहीन ३२ हजार किलो दाल सिल गरेको थियो ।
कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका–७ स्थित यादव चिस्यान गोदाम (कोल्ड स्टोर) मा शनिबार शिलबन्दी गरेको थियो ।
कांग्रेसका नेता तथा पूर्वसांसद राधेचन्द्र यादवको नाममा रहेको यो गोदाम उनका छोरा कलैया उपमहानगरपालिकाका मेयर राजेश रायले सञ्चालन गर्दै आएका छन् ।