कोरोना भाइरसको महामारीसँग लड्नका लागि लागू गरिएको लकडाउन लम्बदै गर्दा गरिब तथा मजदुर वर्ग धेरै प्रभावित बनेका छन् । सरकार र स्थानीय तहले सबैलाई राहतको व्यवस्था गरेको दाबी गरिरहँदा अझै धेरैलाई दुई छाक खान पनि सकस परिरहेको छ । खानाको बन्दोबस्त गर्न कठिन भएपछि कतिपय सयौं किलोमिटरको दुरी हिँडेरै घर जान बाध्य छन् ।
सङ्कटको यो घडीमा जनताको स्तरमा राहतको व्यवस्था भइरहेको छ । कतिपय स्थानमा नेपाल प्रहरी मातहतका विभिन्न चौकी तथा बिटहरूले सेवा थालेका छन् । प्रहरीले यति बेला लकडाउनका कारण भोकै रहेकाहरूलाई खानाको व्यवस्था गरिरहेको छ ।
पैदल यात्रा गरी गाउँ फर्कन लागेकालाई ‘भोकलाई अन्न, प्यासीलाई पानी’ वाणीलाई अनुसरण गर्दै रोल्पा प्रहरीले खाना खुवाउन थालेको छ । रोल्पाको ईलाका प्रहरी कार्यालय घर्तीगाउँले सोमबार पहिलो दिन ३५ जनालाई सामाजिक दुरी कायम गर्दै खाना खुवाइएको प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो ।
‘तीन, चार दिनदेखि पैदल हिँडेर आएका यात्रीहरूलाई खाना खुवाएका छौँ, झोलामा चिउरा दालमोठ लगायत सुख्खा खाना खाँदै आएका उहाँहरुलाई हाम्रो सहयोगले धरै राहत मिलेको छ,’ ईप्रका घर्तीगाँउ प्रमुख समेत रहेका प्रहरी निरीक्षक शङ्कर खड्काले भने ।
प्रहरीको सेवाबाट काठमाडौँ, गोरखा, दाङलगायत विभिन्न जिल्लाबाट हिँडेर आएकाहरूले राहत मिलेको छ । आउँदा दिनमा पनि घर फर्कन लागेका बटुवाहरूलाई सेवा गर्ने खड्काले बताए । प्रहरी निरीक्षक खड्का यसअघि काठमाडौँको प्रहरी प्रभाग बलम्वुमा रहँदा पनि धेरै सामाजिक काम गरेर प्रशंसा बटुलेका थिए ।
हेरौँ केही तस्विरहरु :