आफूसँग काम गरिरहेका अधिकांश साथीभाइ धेरै दिन लगाएर पनि घर गइसके पनि दाङका कुलबहादुर बुढा भने काडमाडौंमै बस्न बाध्य छन् । उनीजस्तै उपत्यकाका धेरै मजदुर खानको समस्या भएसँगै उपत्यका छाड्दा समस्यै नभएर काठमाडौं बसेका भने होइन । काम गरिरहेको कम्पनीले झण्डै ६ महिना पहिलेदेखिको हिसाब नगरेकाले उनी मनोहरा पुल नजिकैको जस्ताले घेरिएको छाप्रोमा बस्दै आउनुभएको छ ।
त्यही छाप्रोमा अरू चारजना साथीसँगै बस्दै आएका छन् । ती पाँचैजनाको समस्या एउटै छ । घरमा रित्तो हात जान नसकेकाले निर्माण व्यवसायीले पैसा दिने आशा गरेर बसिरहेको उनले बताए । उनी गत माघदेखि यहाँ खोला किनारामा पर्खाल लगाउने काम गर्दै आएका छन् । ‘लकडाउन’ पहिले नै कतिपय साथी घर गए पनि उनी अवस्था सामान्य भएपछि काम गर्न पाइएला भन्दै आशा गर्दै बसे । लकडाउनपछि भने निर्माण व्यवसायीले बाँकी हिसाब गर्छु भने पनि नगरेको उनले बताए । उनले भने, “छ महिना काम गरेको पैसा होस् भनेर रित्तो हात फर्कन सकिन ।”
उनले विगत दुई दशकदेखि काठमाडौँमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । यो लकडाउन सुरु भएपछि भने काम गर्न नपाएको बुढाले बताए । दिनभर उसै बस्दा कमाइ नहुने मात्रै होइन दिन काट्न पनि गाह्रो भएको उनले बताए । झण्डै एक साता पहिले ग्यास सकिएपछि अहिले दाउरामा खाना पकाउने गरेको उनले बताए । उनले भने, “खोला छेउमा कतै दाउराको टुक्रा भेटिए त्यही बटुलेर पकाउने गरेका छौँ ।”
झण्डै एक साता पहिले ग्यास सकिएपछि अहिले दाउरामा खाना पकाउने गरेको उनले बताए । उनले भने, “खोला छेउमा कतै दाउराको टुक्रा भेटिए त्यही बटुलेर पकाउने गरेका छौँ ।”
कैलालीका जय सारुमगर पनि बुढासँगै एउटै छाप्रोमा बस्दै आएका छन् । विदेश जानका लागि भन्दै ६ महिना पहिले काठमाडौं आएका उनी त्यतिबेलादेखि नै सडक निर्माणको काममा लागे । काम गर्दै प्रक्रिया अघि बढाउने सोचेका उनले विदेश त जान पाएन स्वदेशमै समेत गरिरहेको कामलाई निरन्तरता दिन नसकेकाे बताए । अहिले आफूसँगै काम गरिरहेका १९ जना घर पुगिसकेको उनले बताए । हिसाब बाँकी भएकै कारण उनले भने घर जाने योजना बनाउन नसकेकाे बताए ।
“साहुले बस्दै जानु केही समयमा लकडाउन पनि खुल्छ र काम हुन्छ भनेको थियो”, उनले भने, “अहिले न काम गर्न पाइयो न त बाँकी हिसाब नै पाइएको छ ।” वडा कार्यालयले दिएको राहतका खानेकुरा एक पटक पाएको भए पनि अहिले सकिनै लागेको उनले बताए । राहतमा आएको चामल र दाल खाएरै उनीहरू बस्दै आएका छन् । साथमा पैसा नहुँदा तरकारी किनेरसमेत खान नसकिएको उनले बताए । सँगै काम गर्ने साथी घर जान भन्दै पोको कस्दा उनलाई पनि जाउँजाउँ भन्ने नलागेको होइन तर यहाँ काम गरेको झण्डै दुई महिनाको ज्याला पाउन बाँकी भएकाले यतै बसेको उनले बताए । पहिले समय–समयमा पैसा घर पठाउने गरे पनि लकडाउन पहिलेकै दुई महिनाको ज्याला नलिएकाले घर पठाउन नसकेको उनले बताए । उनले भने, “उता परिवारले कति न कमायो भन्ने सोचेको हुन्छ रित्तै हात जान मन लागेन ।”
लकडाउनको एक महिना पुग्नै लाग्दा काठमाडौं उपत्यकामा मजदुरी गरेर जीविकोपार्जन गरेकाहरू सबैभन्दा मारमा परेका छन् । कतिपयले विभिन्न कारणले राहत पाएका छैनन् भने राहत पाएकाले पनि एक पटक दिइएको रासन सकिएको वा सकिनै लागेकाले फेरि पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन् । नागरिकको स्वास्थ्य सुरक्षाका लागि सरकारले लकडाउन थप गरिरहँदा उनीहरूमध्ये धेरै घर गइसकेका छन् भने कतिपयले विभिन्न समस्याका कारण उपत्यका छाड्न सकेका छैनन् । असङ्गठित क्षेत्रमा काम गर्ने धेरै मजदुरले ‘लकडाउन’ का कारण रोजगारी गुमाएका छन् । विगतमा काम गरेको ज्यालासमेत नपाउँदा हिँडेरसमेत घर जान नपाएको उनीहरू गुनासो गर्छन् ।
काठमाडौं उपत्यकामा विगतमा सडक, पुललगायत पूर्वाधार निर्माण भएका कतिपय स्थलमा अहिले पनि मजदुर भेटिन्छन् । सरकारले कतिपय स्थानमा पूर्वाधार निर्माण शुरु गरे पनि अधिकांश स्थानमा ठप्प छ । काम गर्न नपाएका उनीहरू दिनभर गफ गरेरै दिन बिताउने गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माणस्थलमा रहेका मजदुरलाई खाद्यान्नको व्यवस्थापन गरिरहेको बताए पनि मजदुरले भने दिइएको खानेकुरा पर्याप्त नभएको बताउँदै आएका छन् ।