असोज ०६, २०८१, आइतबार
               

दक्षिणी सीमा क्षेत्रमा उच्च सतर्कता

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । भातरबाट लुकिछिपी नेपाली नागरिक नेपाल प्रवेश गर्न थालेपछि नेपालको पूर्वीभाग कोरोनाको उच्च जोखिममा परेको छ । 

योसँगै प्रदेश १ का भारतसँग सीमाना जोडिएका चार जिल्लाका सीमा क्षेत्रमा शनिबारदेखि थप कडाइ गरिएको छ ।

शुक्रबार उदयपुरमा बसेका ११ जना भारतीयसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुनसरी, मोरङ, झापा र इलाम जिल्लाको सीमा नाकामा सुरक्षाकर्मीको परिचालन बढाइएको छ । 

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित गरेको छ । सीमा क्षेत्रमा तीन हजार सात सय सशस्त्र प्रहरी र एक हजार एक सय नेपाल प्रहरी परिचालन भएका छन् ।

कुल दुई सय २९ स्थानमा सुरक्षा पोस्ट खडा गरी सुरक्षा तैनाथी बढाएको प्रदेश एक प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

सीमा क्षेत्रको सुरक्षा निगरानी र नियन्त्रणका लागि १८ जना प्रहरी निरीक्षकको नेतृत्वमा नेपाल प्रहरी परिचालन गरिएको उनले बताए ।

लकडाउनपछि दशगजा क्षेत्रको एक किलोमिटर दुरीमा सुरक्षापोस्ट शनिबारदेखि पाँचसय मिटरको दुरीमा खडा गरिएको छ ।

अहिले सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरी प्रत्येक पाँच सय मिटरमा सुरक्षा पोस्ट राखिएको छ ।

भारतको विहार र पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको प्रदेश १ का जिल्ला इलाम, झापा मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कुल तीन सय आठवटा नयाँ पोस्ट थपिएको छ । ती पोस्टमा सात जनाको दरले सशस्त्र प्रहरी रहने बताइएकाे छ । 

झापाको सीमा क्षेत्रमा सबैभन्दा बढी एक सय १४, सुनसरीमा ६९, मोरङमा ७१ र इलाममा १४ वटा नयाँ पोस्ट थपिएको छ । भारतसँग झापा, मोरङ र सुनसरीको दुई सय ७० किलोमिटर र इलामको ५२ किलोमिटर सीमा क्षेत्र रहेको छ ।

सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा अहिले चौबिसै घन्टा गाडी, मोटरसाइकल, साइकल र पैदल गस्ती गरिरहेको जनाएको छ ।

सीमामा रहेका नाकामा सुरक्षकर्मीको आँखा छली नेपाल प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएपछि धनपाल गाउँपालिकामा स्थानीय युवा सीमा क्षेत्रमा स्वयंसेवकको रुपमा खटिएका छन् । 

लुकिछिपी नेपाल प्रवेश गर्नेहरुमध्ये सुनसरीको कोसी गाउँपालिकामा भारतबाट आएका ६ जनालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको छ भने पश्चिम कुशाहास्थित सप्तकोसी नदीबाट डुंगामार्फत नेपाल आउने क्रममा ११ जनामध्ये सातजनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको छ ।

दक्षिणी सीमा नाकामा सुरक्षा फौज रहे पनि भारतबाट आउनेहरु सुरक्षाकर्मीको आँखा छली मकैबारीबाट नेपाल प्रवेश गर्ने गरेका बताइएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि