काठमाडाैं । बैतडी डिलाशैनी–४ का ४५ वर्षीय लालबहादुर नेगी र उनका छोरा २१ वर्षीय दीपेन्द्र नेगीसहित १४ जनाको समूह शुक्रबार महाकाली नदी तरी स्वदेश प्रवेश गरेको छ ।
उनीहरु महाकाली तराइदिएबापत प्रतिव्यक्ति एक हजार भारु तिरी नेपाल प्रवेश गरेका हुन् । ठेकेदारले घर जाउ भनेको र आफूसँग पनि बस्ने खाने पैसा नभएपछि भोकभोकै बस्नुभन्दा तीन दिन पैदल हिँडेर स्वदेश नै आएको उनीहरुले बताए ।
नेगीले भने, ‘ ठेकेदारले काम रोक्यो किनेर खान पनि नपाइने भोकभोकै मर्नुभन्दा आफ्नै देशमा गएर मरौँला भनेर ट्युब तरेर जोखिम मोलेरै भए पनि स्वदेश आयौँ ।’
आफूहरु आफ्नै देशको क्वारेन्टाइनमा बस्ने मनस्थितिका साथ अएको उनले बताए । ‘रहरले भारत गएका थिएनाैँ, तर आउँदा अपराधीजस्तो हुनुपरेको छ,’ उनले भने ।
उनले आफू नेपाल प्रवेश गर्दा प्रहरीलाई खबर गरेरै प्रवेश गरेको बताए । उनले भने, ‘हामी आफ्नै देशको क्वारेन्टाइनमा बस्न चाहन्छाैँ ।’
नेगीसँगै नेपाल प्रवेश गरेका डिलाशैनी १ का सुनील कार्कीले गाउँमा काम नपाउँदा भारतीय बजारमा काम गर्नुपरेको बताउँदै समस्यामा परेर हिँडेरै स्वदेश आएको बताए ।
‘काम गर्ने ठाउँमा खानलाई केही नभएपछि हप्तौसम्म भोकभोकै बस्नुपर्यो,’ उनले भने, ‘जे भए पनि नेपाल पुग्नुपर्छ भनेर हिँडेर आयौँ ।
आफूले नेपालमा सयौँ भारतीय क्वारेन्टाइनमा रहेको सुनेको र यता सम्पर्क गर्दा पनि अफ्ठ्यारै परेको छ र आउन सक्नुहुन्छ तर यतैका क्वारेनटाइनमा बस्नुहोला भनेपछि आफूहरु हिँडेरै स्वदेश आएका उनले बताए ।