काठमाडौं । इँटाभट्टामा काम गर्ने मजदुरहरु झ्याउलीमा भोकै पर्न थालेका छन् ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरे पनि निर्वाध रुपमा चलेका इँटाभट्टामा काम गर्ने मजदुरलाई व्यवसायीले राहत एवं खाद्यान्न उपलब्ध नगराउँदा उनीहरु भोकै परेका हुन् ।
त्यस्तै, चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित इँटा बनाउने खलोमा काम गर्ने रामेछापकी मञ्जु तामाङले पाँच दिनदेखि झ्याउलीमा आगो नबलेको बताइन् ।
‘चिउँरा खाएर बसेको पाँच दिन भयो, त्यो पनि सकियो, बालबच्चा भोकै राख्न निकै गाह्रो भएको छ, साहूले हामीलाई रासन नदिँदा भोकै बस्नुपरेको हो,’ उनले भनिन्, ‘साहूलाई फोन गर्दा नाइकेलाई पैसा दिएकाे छ उहीसँंग लिनु भन्ने जवाफ दिने गरेको, तर नाइके सम्पर्क नआउँदा आफू भोकै बस्नुपरेको छ ।’
त्यस्तै, चाँगुनारायण–८ सुडालस्थित इँटाभट्टाको झ्याउलीमा बस्ने सन्तमान विकको पनि अवस्था उस्तै छ ।
तीन छोराछोरी र श्रीमतीसँगै साँघुरो झ्याउलीमा बस्दै आएका दाङ घोराहीका विक परिवारले एक सातादेखि खाना खान नपाएको बताए ।
आफूले मात्र यो समस्या यहाँका १० वटा झ्याउलीमा रहेका ४६ जनाको परिवारको यतिखेर भोकै बस्नु परेको उनले गुनासो गरे ।
‘अधिकांश इँटाभट्टाका झ्याउलीको अवस्था यस्तै छ । चिउँरा र चाउचाउ खाएर बसेका छौँ,’ गुनासो गर्दै उनले भने, ‘आफूले काम गरेको पैसा र रासन ल्याईदिए भोकै बस्नु नपर्ने थियो ।’
त्यस्तै, भक्तपुरका ताथली, सुडाल, वागेश्वरी, छालिङ, दु्वाकोट, झौखेललगायत क्षेत्रका इँटाभटाका हजारौं मजदुर पनि अहिले इँटा बनाउने काम सकिएको र खानेकुरा पनि सकिएको बताउँदै आफूले काम गरेको पैसा नपाउँदा भोकभाकै बस्नु परेको बताउँछन् ।
ताथलीकै इँटाभट्टाको खलोमा इँटा बनाउने भकुण्डेबेँसीका रामप्रसाद कार्की इँटाभट्टाका मालिक र नाइकेले खान नदिएर मजदुरलाई भोकभोकै राखेको बताए ।
‘आफूले काम गरेको पैसा दिएर घर पठाउने व्यवस्था गरिदिए बाचिन्थ्यो भन्ने आस जाग्न थालेको छ । दुईसाता अघि नै घर जान खाजेका थियौ, इँटा चाङ्ग लाएर सुरक्षित नबनाएसम्म जान पाइन्न भनेर साहूले पठाएन,’ उनले भने ‘अहिले काम सकियो, घर जान पाइन्न, भोकै पर्यौ भन्दा रासन पनि दिँदैन, नाइकेलाई पैसा पठाएका छौँ भन्छन् तर नाइके कहाँ छ पत्तो छैन ।’