जेठ ०६, २०८१, आइतबार
               

डिआइजी बढुवाको तयारी, शक्तिकेन्द्र धाउँदै एसएसपीहरू

ADVERTISEMENT

काठमाडौँ । प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको दौडधुप तीव्र बनेको छ । सरकारले डिआइजीको दरबन्दी कटौती गरेसँगै सीमित पदमा बढुवाका लागि एसएसपीहरूको दौडधुप सुरु भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बिहीबार गृह मन्त्रालयलाई नेपाल प्रहरीका डिआइजीको दरबन्दी १४ मात्रै कायम रहेको निर्णयसहितको पत्र पठाएको छ । सो पत्रसँगै गृह सचिव महेश्वर न्यौपानेले बिहीबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटसमेत गरिसकेका छन् ।

२६ बाट १२ वटा दरबन्दी कटौती गरी १४ कायम गरेपछि आकाङ्क्षीमध्ये १० सिटमामात्रै बढुवाको तयारी भएको छ । सरकारले डिआइजीको दरबन्दी कम गरे पनि प्रहरी संगठनभित्र व्यापक असन्तुष्टि समेत बढेको छ । डिआइजीको संख्या कम हुँदा नेपाल प्रहरीमा ‘करियर डेभलपमेन्ट’को सम्भावना कम रहेको भन्दै उनीहरूमा असन्तुष्टि प्रकट भएको हो । ‘प्रहरी निरीक्षकमा भर्ना भएको व्यक्ति अब एसपी तहबाटै घर जानुपर्ने अवस्था आउने छ । यसो भयो भने त प्रहरीभन्दा सेना र निजामतीतर्फ युवाहरूको आकर्षण बढ्छ, प्रहरीमा भर्ना हुन चाहँदैनन्’, एक प्रहरी अधिकारीले भने ‘अहिलेकै प्रहरी निरीक्षकको भर्ना हेर्ने हो भने कम्तीमा एक सय ५० जना छनोट हुदैछन् । उनीहरूको माथिल्लो तहको दरबन्दी निकै कम छ कसरी बढुवा हुन्छन् ? कहिलेसम्म एउटै पदमा रहेर काम गर्छन् ? अब एउटा पदबाट बढुवा हुन कम्तीमा १६ वर्ष कुर्नुपर्ने हुन्छ ।’ उनको अनुसार अहिले डिआइजी दरबन्दी कटौती निकै अव्यवहारिक छ ।

डिआइजीको लागि ३४ एसएसपी प्रतिस्पर्धामा छन् । गृह मन्त्रालयले बढुवाको प्रक्रिया अघि बढाएसँगै आकाङ्क्षी केही एसएसपीहरू शक्तिकेन्द्र धाउन थालेका छन् ।

२०४९ वैशाख १९ र चैत ११ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ९८ र १०१ टोलीबाट प्रतिस्पर्धामा रहेकाहरू बढुवाको प्रतिस्पर्धामा छन् । जो २०७४ साउन ३२ र २०७५ जेठ २ मा एसएसपीमा बढुवा भएका थिए । दरबन्दी कटौतीले रिक्त पद कम भएपछि बढुवामा समेत सकस भएको छ ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट आम नागरिकलाई जोगाउन लकडाउन जारी छ । र्‍यापिड जाँच, व्यवस्थित क्वारेन्टाइन, सम्पर्कहरूको पहिचान र खोजी तथा आइसोलेसन र उपचारसम्म पहिलो तहको जिम्मेवारीमा प्रहरीलाई नै छ । तर यही अवस्थामा काम प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक ‘चेन अफ कमान्ड’ नभएपछि सरकारले बढुवा तयारी गरेको हो । समयमा बढुवा नहुने विगतकै परम्परा दोहोरिँदा त्यसको प्रत्यक्ष प्रभाव प्रहरीका काम कारबाहीमा देखिएपछि केही दिनभित्रै दस एसएसपीहरूलाई बढुवा गर्ने गृह मन्त्रालय स्रोतको दाबी छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बस्ने बढुवा समितिले यसै साता डिआइजी बढुवाको टुङ्गो लगाउने स्रोतले जनाएको छ । गृह स्रोतले भन्यो ‘यस्तो विपद् र महामारीको समयमा आवश्यक दरबन्दी खाली हुँदाको प्रभाव दैनिक काममा परिरहेको छ, यसैले तत्काल बढुवा गर्दै रिक्त ठाउँको कमान्ड सम्हाल्न पठाउने तयारी छ ।’

प्रहरीमा दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर बाहेकका सबै प्रदेश प्रहरी कार्यालय नेतृत्वबिहीन छन् । प्रहरीका सातमध्ये ६ प्रदेश प्रहरी कार्यालय २८ माघपछि प्रमुखविहीन छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयमा सबैभन्दा सिनियर भनेका अहिले डिएसपी मात्रै छन् । डिआइजी प्रमुख रहने प्रदेश प्रहरी कार्यालयमध्ये सुदूरपश्चिममा एसएसपी देवबहादुर बोगटी र कर्णालीमा डिएसपी लोकनाथ तिम्सिनाले कमान्ड सम्हालिरहेका छन् । यसबाहेक प्रदेश १ मा एसएसपी शेखर कोइराला, वागमती प्रदेशमा एसएसपी किशोरकुमार दाहाल कार्यवाहक छन् । प्रदेश ५ मा एसएसपी नरबहादुर केसी छन् । गण्डकी प्रदेश यतिबेला सङ्घीय प्रहरी एकाइ कार्यालयकी एसएसपी पूजा सिंहको कमान्डमा छ । सातमध्ये प्रदेश २ मात्रै डिआइजी प्रद्युम्न कार्कीको कमान्डमा सञ्चालन भइरहेको छ । बाँकी प्रदेश कमान्ड रिक्त छ ।

कहाँकहाँ हुनेछन् डिआइजी ?

प्रहरीमा दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर बाहेकका सबै प्रदेश प्रहरी कार्यालय नेतृत्वविहीन छन् । हाल प्रहरीमा कार्यरत चार डिआइजीमध्ये निरजबहादुर शाही केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा छन् । प्रध्युम्नकुमार कार्की दुई २ प्रहरी कार्यालय जनकपुरको कमान्डमा छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा सूर्यप्रसाद उपाध्याय छन् भने महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा विश्वराज पोखरेल कार्यरत छन् ।

प्रहरीमा दुई नम्बर प्रदेश प्रहरी कार्यालय बाहेक बाँकी ६ वटा प्रदेश नेतृत्वविहीन छन् । यसबाहेक राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालमा पनि डिआइजी दरबन्दी रिक्त छ । यस्तै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज समेत नेतृत्वविहीन छ । डिआइजी बढुवासँगै रिक्त ठाउँमा पठाइने छ ।

क-कसको होला पल्ला भारी ?
गृहले बढुवा प्रक्रिया थालेसँगै २०४९ वैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवा थालेका ९८ टोली र सोही वर्षको चैत ११ मा प्रहरी निरीक्षकबाटै सेवा प्रवेश गरेका १०१ टोलीका ३४ एसएसपीहरूको बढुवा हुनेछ । ती ब्याचका सबैजसो बढुवाको लबिङमा छन् । वरीयताअनुसार ९८ टोलीका प्रहरी एसएसपी घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्की अग्रपंतिमा छन् । वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, दिलीपकुमार चौधरी, राजेशकुमार लाल कर्ण र देवबहादुर बोहरा डिआइजी बढुवाको लाइनमा छन् । सोही टोलीकै रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी, देवबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोरकुमार दाहाल, शेखर कोइराला, प्रदीपकुमार श्रेष्ठ पनि प्रतिस्पर्धामै छन् ।

त्यस्तै १०१ टोलीका धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, दिवेश लोहनी, रवीन्द्रबहादुर धानुक, सहकुलबहादुर थापा र अरुणकुमार बिसीसमेत डिआइजी बढुवाको प्रतिस्पर्धामा छन् । यस्तै सुशिलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र नरबहादुर खत्री पनि बढुवाका दाबेदार बनेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका विश्वराज पोखरेल पनि उनीहरूकै ब्याचका हुन् । पोखरेलले भने राजनीतिक दाउपेच प्रयोग गरेर आफूभन्दा सिनियरलाई उछिनेर विवादास्पद 'रकेट प्रमोसन' गराएका थिए । 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि