जेठ ०८, २०८१, मंगलबार
               

भैँसीको दूध भैँसीलाई नै

नेपाल फ्ल्यास
चैत २१, २०७६

ADVERTISEMENT

म्याग्दी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरको सङ्क्रमण फैलन नदिन जारी भएको लकडाउनका कारण दूध उत्पादन गर्ने गाईभैँसीपालक कृषकहरु समस्यामा परेका छन् । 

लकडाउनसँगै बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरु गाउँ फर्किएको र बजार सुनसान भएका कारण खपत हुन छाडेसँगै उत्पादन भएको दूध गाइभैँसीलाई नै खुवाउनुपर्ने बाध्यता आएको कृषकहरुको गुनासो छ । 

१८ वर्षदेखि व्यावसायिकरूपमा भैँसीपालन गर्दै आएका बेनी नगरपालिका–६ बाँसबोटका कृषक दुर्गाप्रसाद पौडेलले दैनिक १०० लिटर भन्दा बढी दूध खेर गएको दुःखेसो पोखे । 

१७ वटा भैँसी पालेका वरदान पशुपक्षी फार्मका सञ्चालक पौडेलले २५० लिटर भन्दा बढी दूध उत्पादन हुने गरेकामा खपत घटेपछि दूधलाई व्यवस्थापन गर्न समस्या आएको बताए । 

बिहान उत्पादन भएको दूधमध्ये दैनिक ८० लिटर बजारमा ल्याएर बिक्री गर्ने गरे पनि बाँकी १०० लिटर बढी दूध दैनिकरूपमा खेर जाने गरेको उनले बताए ।

“केही दुधलाई कुराउनी, पनिर बनाएर सदुपयोग गर्ने कोसिस गरेको छु, तर त्यो पनि विक्री गर्न कठिनाइ छ, विक्री नहुने दूधलाई पाडापाडी र भैँसीलाई नै खुवाउने गरेको छु”, पौडेलले भने । 

कृषकहरुले आफूले उत्पादन गरेको दूधलाई बजारमा डेरीमा प्रतिलिटर १०० र फुटकर १२० रुपैयाँमा बिक्री गर्दै आएका छन् ।

व्यावसायिकरूपमा गाई-भैँसी पालन गर्दै आएका अर्थुङ्गेका युवा कृषक कमल पौडेलले उत्पादन भएको आधाभन्दा बढी दूधलाई खेर फाल्नुपर्दा ठुलो नोक्सानी व्यहोर्नुपरेको बताए । 

“मेरो फार्ममा एउटा गाई र नौ वटा भैँसी छन्, दैनिक ८० लिटरसम्म दूध उत्पादन गर्छु, आधा पनि खपत हुन्न, बाँकी दूध भैँसीलाई नै खुवाउने र खेर फाल्नुपर्ने बिडम्बना आएको छ”, उनले भने ।
 
बेनी बजार आसपासका कृषकहरुले दैनिक उत्पादन गर्ने दूधको ६० प्रतिशत उत्पादन खेर गएको बेनी नगरस्तरीय एकता दुग्ध उत्पादक तथा गाईभैँसी स्रोत केन्द्र विकास समितिका अध्यक्ष जीवनप्रसाद पौडेलले बताए । 

“बजार बन्द जस्तै छ, दूध लैजान समस्या त छैन, तर खपतै नहुने भएपछि कहाँ लगेर बिक्री गर्नु ?”, उनले भन्नुभयो । 

बजारमा केही डेरी पसलहरु सञ्चालनमा आए पनि माग न्यून भएकाले उत्पादन भएको सबै दूध बिक्री गर्न नसकिएको पौडेलको भनाइ छ । 

६ वटा भैँसी पाल्दै आएका कृषक पौडेलले दैनिक ६० लिटरभन्दा बढी दूध उत्पादन हुने भए पनि त्यसको आधा पनि बजारीकरण गर्न नसकेको बताए । 

बेनी नगरक्षेत्रमा मात्रै दुई दर्जनभन्दा बढी कृषकले व्यावसायिक रूपमा दूध उत्पादन गर्ने गरी गाईभैँसी पालन गर्दै आएका छन् । 

समितिका अनुसार सामान्य अवस्थामा बेनी बजारमा मात्रै दैनिक १५ सय लिटरको हाराहारीमा दूध खपत हुने भए पनि अहिले त्यसको ४० प्रतिशत मात्रै खपत हुने गरेको छ । 

बेनी नगरपालिकासँगै जिल्लाको रघुगङ्गा, मङ्गला र मालिका गाउँपालिकामा समेत व्यावसायिक रूपमा गाईभैँसी पालन हुँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि