काठमाडौं । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको छात्रावासमा रहेका ८० भन्दा बढी विद्यार्थीका लागि आज प्राज्ञिक विद्यार्थी परिषद नेपालको समन्वय एवं मारवाडी सेवा समितिको सहयोगमा खाद्यान्न वितरण गरिएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले घोषणा गरेको लकडाउनको कारण घर जान नसकेका, बैंकहरू बन्द रहेका कारण पैसाको अभाव भएर सहज रुपमा भोजन नपाउने लगायतका समस्यामा रहेका विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरिएको हो ।
विद्यार्थीका लागि विद्यार्थी परिषदद्वारा चामल, दाल, तेल लगायतको एक सातासम्मका लागि पुग्ने खाद्य सामाग्री विरतण गरिएको हो ।
विद्यार्थीको हकहितको विषयमा ठूला ठूला भाषण गर्नेहरू यति लामो समय लकडाउन हुँदा पनि कोही कसैले आफूहरुको समस्याप्रति चासो नदेखाएको भन्दै विद्यार्थीहरुले गुनासो गरेका थिए ।
प्राज्ञिक विद्यार्थी परिषदले खाद्यान्न सहयोग उपलब्ध गराएकोमा विद्यार्थीले खुसी प्रकट गरे ।
छात्र, छात्रा दुवै छात्रावासमा खाद्य सामाग्री वितरण गरिएको हो ।
लकडाउन लम्बिएमा र खाद्यान्न सामाग्रही अभाव भएमा पुनः खाद्य सामाग्री उपलब्ध गराइने परिषदले जनाएको छ ।