जेठ ०७, २०८१, सोमबार
               

हिन्दू स्वयंसेवक संघद्वारा भोजन प्याकेट वितरण

नेपाल फ्ल्यास
चैत १७, २०७६

ADVERTISEMENT

काठमाडौं । लकडाउन सुरु भएदेखि हिन्दू स्वयंसेवक संघ नेपालले सडकपेटीमा बस्न बाध्य तथा उपत्यका बाहिर जान नसकेका गरिब मानिसलाई भोजन वितरण गर्दै आएको छ । 

विश्वभरि नै फैलिएको कोरोना महामारी (कोभिड १९) को संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण दैनिक मजदुरी गरेर बिहान बेलुकाको छाक टार्न बाध्य परिवार समस्यामा परेका छन् ।

त्यस्तै आफ्नो निश्चित आवास नभएका, मागेरै काम चलाउनु पर्ने र सडकलाई नै आफ्नो आश्रय बनाएका कतिपय मानिस पनि लकडाउनका कारण भोजन–पानीबाट वञ्चित छन् । 

विपत्तिको यस घडीमा बिहान–साँझका लागि भोजनको अन्य व्यवस्था नभएका यस्ता मानिसलाई हिन्दू स्वयंसेवक संघ नेपालद्वारा गत चार दिनदेखि निरन्तर रूपमा भोजन प्याकेट बनाई वितरण गरिएको छ ।

पहिलो दिन पशुपति क्षेत्रवरिपरि रहेका जम्मा ८६ जनालाई भोजन प्याकेट बनाएर वितरण गरिएको संघका काठमाडौँ सम्भाग प्रचारक मुकेश कुमारले बताए । त्यस्तै दोस्रो दिनदेखि सेवाग्राहीको सङ्ख्या करिब ३०० पुगेको उनको भनाइ छ ।

भोजन वितरण कार्यमा खटिएका प्राज्ञिक विद्यार्थी परिषद् नेपालका संगठन सचिव नारायण प्रसाद ढकालले भने, 'सुरुमा हामीले १५० जनाको भोजन प्याकेट बनाएर वितरणको लागि लगेका थियौँ । आवश्यकता भएका धेरै मानिसहरू पायौँ पनि । हामिले लगेको भोजन वितरण सक्किएको थियो र पनि अरू धेरै मानिस आइरहेका थिए । हामिले आजलाई सकियो भन्दा उनिहरूको अनुहारमा देखिएको स्थितिले हामीलाई निकै भावुक बनायो ।'

उनले भने, 'वास्तवमा समाजमा समस्या छ, तर त्यसलाई बुझ्ने प्रयास हामिबाट नभएको हो कि जस्तो लाग्छ । केही परिस्थितिले सधै खुला आकासमुनि जीवन बिताउन वाध्य भएका थिए । कोही यातायात साधन नपाएर घरजान नपाएका मजदुर पनि थिए ।'

यस्तै विद्यार्थी परिषद् र संघका कार्यकर्ताले ठाउँ ठाउँमा मास्क वितरण स्टल सञ्चालन गरी आवश्यक परेका मानिसलाई मास्क वितरण गरेका छन् । गत तीन दिनमा लगभग २६०० मास्क वितरण गरिएको नारायण प्रसाद ढकालले जानकारी दिए ।

संघको केन्द्रीय कार्यालयमै भोजन बनाउने, प्याकेट बनाउने र नजिकै पशुपति क्षेत्रमा गएर वितरण गर्ने कार्य हुँदै आएको प्राज्ञिक विद्यार्थी परिषद् नेपालका महासचिव सुरेन्द्रप्रसाद भट्टले बताए । 

उनले भने, “भोजन वितरण कार्य आवश्यक देखियो र हामीले स्वतःस्फूर्त रूपमा काम थाल्यौँ । यस कार्यमा हामीले पर्याप्त मात्रामा सुरक्षाको ख्याल पनि राखेका छौँ । भोजन वितरण गर्दा भिडभाड नहोस्, सरकारले दिएको निर्देशनको पालना होस् भन्नेतिर पनि हाम्रो ध्यान निरन्तर छ ।”

भोजन प्योकट वितरण कहिलेसम्म जारी रहन्छ भन्ने प्रश्नमा संघका महासचिव मुरली निरौलाले भने, “महामारीबाट सबै सुरक्षित रहुन् तर भोकले  कोही मर्नु नपरोस् । स्थिति सामान्य नहोउन्जेल वञ्चित–पीडित हाम्रा समाजका बन्धु–भगिनीहरूलाई भोजन उपलब्ध गराउने हाम्रो प्रयास रहने छ ।”

यो पनि