जेठ ०९, २०८१, बुधबार
               

लत्ताकपडा खरिद घोटालामा छानबिन समिति गठन

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

काठमाडौँ । नेपाल प्रहरीको लत्ताकपडा स्वीकृत नमुनाभन्दा फरक सामान खरिद गरी ८ करोड रुपैयाँ घोटाला भएको प्रकरणमा प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको छ ।

प्रहरीले मानवस्रोत विभागका एसएसपी वसन्त पन्तको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति बनाएको हो । समितिमा कानुन शाखाका एसपी गोपाल भट्टराई, डिएसपीहरू कवित कटवाल, गौतम केसी, मदन केसी, योगेन्द्र सिंह थापा, भन्सार विभाग र गुणस्तर विभागका एक जना प्रतिनिधि रहेका छन् ।

नेपाल फ्ल्यासले प्रहरीको सामान खरिदमा घोटाला भएको समाचार सार्वजनिक गरेलगत्तै प्रहरीले छानिबन समिति गठन गरेको हो । निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रचलित नियम कानुनविपरीत प्रहरीलाई आवश्यक लत्ताकपडाका सामग्री सेटिङमा ठेक्का लगाएको समाचार नेपाल फ्ल्यासले प्रकाशित गरेको थियो ।

प्रहरी प्रवक्ता डिआइजी शैलेश थापाका नेपाल प्रहरीले खरिद गरेका ती सामग्रीको गुणस्तर चेकजाँजका लागि एसएसपीको नेतृत्वमा छानबिन समिति बनाएको बताए । उनका अनुसार सो समितिले प्रबन्ध शाखाले खरिद गरेका सामानको नमुना परीक्षण गराउनेछ । ज्याकेट, उलन पाइन्ट–स्वेटर, कटनका सर्ट–पाइन्ट, टिसर्ट, जुत्ता, मोजाजस्ता स्केलका सामानहरू स्वीकृत नमुना भन्दाबाहिर खरिद भएपछि प्रहरीमा व्यापक गुनासो बढेको थियो ।

प्रहरीले एक लाख ३० हजार मिटर कटन सर्ट, एक लाख ६० हजार मिटर कटन पाइन्ट, ५० हजार मिटर उलन सर्ट, २७ हजार मिटर उलन पाइन्ट, एक लाख ६९ हजार मिटर चुस्ता, २४ हजार जोर डिएमएस बुट, २५ हजार उलन स्वेटर, १६ हजार पार्का ज्याकेटको टेण्डर निकाली टेण्डर स्वीकृत गरेको थियो । त्यसको सामान बुझाउन थालिएको छ ।


कस्तो लाग्यो ?

यो पनि