जेठ ०८, २०८१, मंगलबार
               

अब ११ र १२ कक्षामा वास्तु अध्यापन

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहमा पहिलोपटक वास्तु विषयको अध्यापन गराउने उद्देश्यले पाठ्यक्रम निर्माण सुरु गरेको छ । पाठ्यक्रम निर्माण गर्न नेपाल संस्कृत विश्वविद्यालयका पूर्वप्राध्यापक श्रीकृष्ण अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ। 

समितिमा डा‍ खिलानाथ बस्ताकोटी, उप प्राध्यापक पुरुषोत्तम भट्टराई र डा वासुदेवकृष्ण शास्त्री सदस्य हुनुहुन्छ । नेपालमा प्राचीन गुरुकुलकालीन शिक्षा पद्धतिमा वास्तुको अध्यापन हुने गरे पनि शैक्षिक तहमा औपचारिकरुपमा आगामी शैक्षिक सत्र २०७७ देखि अध्यापन गर्ने तयारी स्वरुप पाठ्यक्रम निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ ।

यसअघि नेपाल संस्कृत विश्वविद्यालयको शास्त्री र आचार्य तहमा सिद्धान्त तथा फलित ज्योतिष विषयमा ३० पूर्णाङ्कसम्मको वास्तुसम्बन्धी अध्यापन हुन्थ्यो ।

पछिल्लो समय राजधानीलगायत मुख्य मुख्य शहरमा वास्तुलाई पछ्याउँदै घर, भवनलगायत संरचना बनाउने क्रम बढेको छ जसका कारण धेरै ज्योतिषीले वास्तुसमेत हेर्न थालेका थिए । यस क्षेत्रमा दक्ष जनशक्ति नभएका कारण विभिन्न समस्या आएको गुनासो बढेपछि औपचारिकरुपमा पाठ्यक्रम निर्माण भइरहेको सदस्य भट्टराईले बताए । 

संस्कृत मावि एवं वेद विद्याश्रमका लागि कक्षा ११ र १२ अध्यापन गराउने गरी संस्कृत भाषाको पाठ्यक्रम निर्माण गर्न लागिएको उनले बताए । पाठ्यक्रममा प्राचीन वास्तु, गृह, भवन, मन्दिर  निर्माण, चिनियाँ वास्तु पद्धति फेङ सुईलगायत विषय वस्तु समावेश हुने जनाइएको छ ।

केन्द्रका सूचना अधिकारी गणेश भट्टराई आगामी साउनदेखि अध्यापन हुने गरी पाठ्यक्रम निर्माण अन्तिम चरणमा पुगेको बताउँछन् । संस्कृत र नेपाली दुवै भाषामा पाठ्यक्रम एवं पुस्तक प्रकाशन गरी अध्यापन गराउन चाहने संस्कृत तथा साधारण दुवै लागू गर्न सक्ने उनले बताए ।

प्राचीन निर्माण पद्धतिलाई पूर्णरुपमा लागू गरेमा बलियो संरचना बनाउन सकिने वास्तुशास्त्री शिवप्रसाद पोखरेल बताउँछन् । यस विषयमा बृहत् स‌ंहिता, विश्वकर्मा प्रकाशलगायत ग्रन्थमा चर्चा गरिएको उनले जानकारी दिए।

माध्यमिक तहको कक्षा ११ र १२ का लागि सिद्धान्त र फलित ज्योतिषको पाठ्यक्रम गत वर्ष नै निर्माण भइसकेको छ । दुवै विषयको अध्यापन चालू शैक्षिक सत्रदेखि नै सुरु भइसकेको केन्द्रले जनाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि