काभ्रे ।काभ्रेपलाञ्चोककाे पनौतीमा लगाइएको कर्फ्यू जिल्ला प्रशासन कार्यालयले हटाएको छ । मंगलबार राति ८ बजेदेखि लागु हुने गरी कर्फ्यू हटाइएको हो ।
सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिएपछि घाइते भएका खानीखोला गाउँपालिकाकी ३० वर्षीया जनिमाया गोले र उनकी छोरी ३ वर्षीया स्मारिकाको उपचारकाे क्रममा मृत्यु भएको थियो ।
त्यसपछि स्थानीयबासी टिपर आतंकविरुद्ध आन्दोलित बनेका थिए । त्यसक्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा पाँच जना प्रहरी र तीन जना सर्वसाधारण घाइते भएका थिए ।
मंगलबार बिहानैदेखि जारी तनाव टिपर चालक नवराज थापाविरुद्ध किटानी जोहरी दर्ता भएपछि स्थिती साम्य बनेको काभ्रेका एसपी रविकुमार पौडेलले जानकारी दिए ।