मंसिर ०१, २०८१, शनिबार
               

घरबाट भागेका दुई बालिकाले जब मन्त्रीको गाडी भेटे...

नेपाल फ्ल्यास
चैत ०४, २०७६

विमला केसी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, कर्णाली प्रदेश
ADVERTISEMENT

सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सवार गाडी सोमबार बेलुका  छिन्चुबाट वीरेन्द्रनगर सुर्खेतका लागि गुडिरहेको थियो । 

भेरीगङ्गा नगरपालिकाको सत्तरी भन्ने ठाउँमा सडकको छेउमा राखेको स्थानीय केरामा उनको आँखा पुग्यो ।  

चालकलाई गाडी रोक्न भनिन् । गाडी गतिमा भएकाले रोक्न खोजेको ठाउँभन्दा १०० मिटर टाढा गएर रोकियो ।

गाडी रोकिएपछि दुई अपरिचित आठ-नौ वर्षका बालिका आएर हामीलाई सुर्खेत लगिदिनोस्, हामी तपाईंलाई पैसा दिन्छौँ भन्दै चालकलाई गुहारे ।  

चालकसँग ती बालिकाको आग्रह सुनेपछि मन्त्री केसीको ध्यान गयो । उनले दुवैलाई बोलाएर सोभिन्, “नानी कहाँ हो घर ? तिमी दुवै यतिबेला कहाँ जाने हो ? तिमीसँग कोही छैन त ? किन तिमी दुवै यतिखेर एक्लै हिँडेको ?” 

ती मध्ये एक बालिकाले आत्तिदै भनिन्, “हाम्रो घर भर्‍याङ खोरियो हो । त्यहाँबाट तीन घण्टा हिँडेर आएको । हामी सुर्खेत बसपार्क मामाकहाँ जाने हो । अन्य प्रश्नको भने उनले उत्तर दिन चाहिनन् ।” 

पुनः मन्त्री केसीले सोधिन्, “तिम्रो मामाको नाम के हो ? बालिकाले भनिन् थाहा छैन । तिम्रो घरमा बुबाआमा हुनुहुन्न ? सानै छौँ, तिमीहरु भागेर आएजस्तो लाग्छ”, उनले प्रतिप्रश्न गरिन्। 

आत्तिदै बालिकाले रुँदै घरमा कान्छी आमा भएको र उनले गाली गर्ने गरेको सुनाइन् । 

हातमा प्लाष्टिकको झोलामा केही लत्ताकपडा बोकेकी  ती बालिकाले तारन्तार पैसा दिन्छु मामा घर पुर्‍याइदिन भन्दै आग्रह गरिरहिन ।  

तर बाँकी प्रश्नको उत्तर नदिएपछि मन्त्रीले ‘ठिकै छ तिमीहरुलाई प्रहरी कहाँ बुझाउँछौँ’ भन्नुभयो । यो सुन्नेबित्तिकै दुवै भाग्न कोसिस गरे । 

पछि उनले सम्झाइबुझाई गरेर उनीहरुलाई गाडीमा राखिन् ।  

२०० मिटर अघि पुगेपछि सबैजना गाडीबाट ओर्लिए । संयोगवशः त्यहाँनेर दुवै बालिका अध्ययनरत मनिरामकाँडा आधारभूत विद्यालय भेरीगङ्गा नगरपालिका–१ सुर्खेतका शिक्षिका ललिता बुढाक्षेत्री भेटिइन्  । 

दुई बालिका भागेर गएको सुनेपछि कसरी भेटाउने होला भनेर गाडी कुरेर बसेको शिक्षिकाले बताइन् ।

मन्त्री केसीले शिक्षिका बुढाक्षेत्रीलाई दुवै बालिकाको नाम, वतन, ठेगाना सोधिन् । 

उनको प्रश्नको जवाफमा शिक्षिका बुढाक्षेत्रीले दुवै बालिका भेरीगङ्गा नगरपालिका–१ भर्‍याङ खोरिया सुर्खेतका नौ वर्षीया दुर्गा सिंह र १० वर्षीया सुकमाया गुरुङ रहेको जानकारी दिइन् । 

उनका अनुसार दुर्गा मनिराकाँडा आधारभूत विद्यालय कक्षा ४ र सुकमाया  कक्षा ३ मा अध्ययनरत छिन् । 

शिक्षिका बुढाक्षेत्रीले दुवै बालिकाले ३५० रुपैयाँ बोकेको, परीक्षा नदिई भागेर पाँच घण्टाको समयमा राजमार्गको सत्तरी भन्ने ठाउँमा पुगेको र परिवारले उनीहरुलाई खोजी गरिरेहको बताइन् ।
 
शिक्षिका बुढाक्षेत्री विद्यालयबाट बिदा लिएर सुर्खेत पुग्न करिब तीन घण्टाको पैदलयात्रापछि राजमार्गमा बेलुका ५ः४० बजे पुगेकी थिइन् । 

बालिकाप्रति निकै दया राखी उनीहरुको उद्धार गरेको भन्दै शिक्षिकाले मन्त्री केसीप्रति कृतज्ञता प्रकट गरिन् । 

साँझ परिसकेको र बालिकालाई घर पुर्‍याउन नसकिने भन्दै मन्त्री केसीले बालिकालाई  वीरेन्द्रनगरसम्म उद्धार गरेर शिक्षिका बुढाक्षेत्रीको जिम्मा लगाइन् ।

मन्त्री केसीले शिक्षिका बुढाक्षेत्रीलाई घरपरिवारलाई राम्रोसँग सम्झाएर बालिकालाई बुझाउन र उनीहरुलाई कुनै पनि मानसिक, शारीरिक र मनोवैज्ञानिक पीडा एवं तनाव नदिन सुझाएकी छिन् । 

यद्यपि उनीहरुको सही व्यवस्थापन गर्न नसिकए तुरुन्त जानकारी गराउन समेत आग्रह गरेकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि