असोज ०६, २०८१, आइतबार
               

पुरातात्विक सम्पदाहरूको संरक्षणमा नीतिगत समस्या

नेपाल फ्ल्यास
चैत ०३, २०७६

ADVERTISEMENT

काठमाडौं । खतराको सूचीमा पर्ने सम्भावनालाई ध्यान दिएर सम्पदाहरूको पुननिर्माण गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

युनेस्कोले सम्पदाहरूको पुननिर्माण पुरानै शैलीमा नभएको बताइरहेका बेला विज्ञहरूले खतराको सूचीमा पर्नेगरी पुननिर्माण गर्न नहुनेमा जोड दिएका हुन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विश्व सम्पदा सूचीमा परेका पुरातात्विक सम्पदाहरूको अध्ययन गर्न गठित उपसमितिको बैठकमा वरिष्ठ संरक्षणविद् प्राध्यापक सुदर्शनराज तिवारीले धेरैजसो सम्पदाको पुननिर्माण पुरातात्विक मापदण्डको सिद्धान्त अनुरुप नभए पनि खतराको सूचीमा पर्नेगरी काम गर्न नहुने बताएका हुन् । उनले तीन चार वर्ष लगाएर गरिएको काममा सिद्धान्त अनुरुप गर्न नसके पनि विश्व सम्पदाको सूचीमा परेका सम्पदाहरू खतराको सूचीमा पर्न नहुने बताए ।

संस्कृतिविद् डा. प्रेम खत्रीले सम्पदाको संरक्षण कसरी गर्ने भन्ने विषयमा धेरैपटक छलफल भएको तर त्यसलाई कार्यान्वयनमा लैजान नसक्नु नै मुख्य समस्या रहेको बताए । उनले राजनीतिक दलहरूले समेत आफ्नो घोषणा पत्रमा सम्पदाको संरक्षण गर्ने विषय समावेस गर्नु पर्नेमा जोड दिए । त्यस्तै सम्पदा रोजगारीसँग समेत जोडिएकाले यसको पुरातत्वलाई ध्यान दिएर संरक्षण गरिनुपर्ने उनले बताए ।

पुरातत्वविद् प्रकाश दर्नालले विश्व सम्पदा सूचीमा परेका सम्पदाहरू मात्र नभएर एक सय वर्ष नाघेका घर पाटीहरूलाई पुरानै शैलीमा जिर्णोद्धार गर्नुपर्ने बताए। उनले पुराना सार्वजनिक सम्पदाहरूको पुननिर्माणमा फलामे रड, सिमेन्टको प्रयोग गरिएको भन्दै सम्पदाहरूलाई पुरातात्विक मापदण्ड अनुसार निर्माण गर्नुपर्नेमा जोड दिए। उनले आधुनिक शैलीबाट निर्माण गर्ने प्रचलनअनुसार पुराना घर पाटीहरू सबै खतम भएर गएको समेत बताए ।

बैठकमा विज्ञहरूले पुरातात्विक सम्पदाहरूको संरक्षण गर्ने विषयमा अझै पनि केही नीतिगत समस्या रहेको बताएका थिए । जसका कारण सम्पदाहरूको पुननिर्माणमा पुरातात्विक मापदण्ड पुरा हुन नसकेको र यसले सम्पदाहरूलाई खतराको सूचीमा पार्न सक्ने सम्भावना रहेको उनिहरूको भनाइ थियो ।    


कस्तो लाग्यो ?

यो पनि