काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् ।
मिर्गौला पुनः प्रत्यारोपणका क्रममा पेटभित्र राखिएको ‘स्टेन्ट’ निकाल्नका लागि चिकित्सकको सुझावअनुसार प्रधानमन्त्री स्पताल गएका हुन् ।
स्टेन्ट निकालेपछि र केही फलोअप परीक्षणपछि प्रधानमन्त्री ओली बालुवाटारस्थित निवासमा फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
गत फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई शुक्रबार (९ दिनपछि) अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरूले आईतबार गर्ने भिडियो कन्फरेन्समा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम छ ।
साँझ सवा पाँच बजे भिडियो कन्फरेन्स सुरु हुनेछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयभित्र रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।
दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली सहभागी हुन लागेको यो पहिलो औपचारिक कार्यक्रम हो ।