असोज ०६, २०८१, आइतबार
               

सरकारले युरोपियन र मध्यपूर्वी देशका भिसा रोक्ने

नेपाल फ्ल्यास
फागुन २९, २०७६

ADVERTISEMENT

सरकारले युरोपियन र मध्यपूर्वका कोरोनाको बढी संक्रमण देखिएका देशहरूको भिसा रोक्ने भएको छ । 

कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यसअघि विभिन्न ५ देशबाट आउनेहरूको भिसा रोक्ने निर्णय गरेकोमा बिहीबार युरोपियन र मध्यपूर्वका संक्रमित देशहरूबाट समेत भिसा रोक्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बढी संक्रमित देशहरूको नाम संकलन भइरहेको बताए ।

तत्काल हवाई उडानहरू कटौती नगर्ने निर्णय पनि बैठकले गरेको उनले बताए । बैठकले संक्रमण भइहालेको अवस्थामा तयारी गर्न स्वास्थ्यमन्त्रालयलाई भनेको छ । क्वारेन्टान सेन्टर, आइसोलेसन कक्ष तथा उपकरणहरूको आपूर्ति बढाउन मन्त्रालयलाई निर्देशन दिइएको उनले बताए । त्यसैगरी उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीहरूको सुरक्षाका उपकरणहरूको आपूर्ति गर्न पनि समितिले भनेको छ । मन्त्री खतिवडाले तत्काल विद्यालय र परीक्षाहरू स्थगित नगर्ने निर्णय गरिएको बताए । आवश्यक परेको अवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको मेडिकल टिम र मेडिकल कलेज तथा अन्य संघ संस्थाहरूबाट स्वास्थ्यकर्मीहरूलाई परिचालन गर्न तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ ।

सरकारले सार्वजनिक समारोह, राजनीतिक भेला निरुत्साहित गर्न पनि आग्रह गरेको छ । यसैगरी विवाह, भोजभतेर र बढी मान्छेहरू जम्मा हुने कामहरू नगर्न र सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनले विश्वभरी नै महामारी घोषणा गरेपछिको अवस्थाको समीक्षा गर्दै बैठकले नेपालमा जोखिमको अवस्था र छिमेकी मुलुकहरूको अवस्था तथा उपनाउनुपर्ने सतर्कताका बारेमा पनि छलफल गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि