श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ सार्वजनिक गर्दै पछिल्लो दश वर्षमा मात्रै ४० लाख नेपालीहरू श्रम गर्न वैदशिक रोजगारीमा गएका छन् ।
तथ्याङ्क अनुसार अहिले सम्म १ सय ३२ भन्दा बढी देशमा नेपाली श्रमिकहरू श्रम गर्न पुगेका छन् । सन २००८/०९ देखि सन २०१३/१४ सम्ममा प्रत्येक वर्ष औषतमा ५ लाख भन्दा बढी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । त्यसपछि भने यो संख्या कम हुँदै गएको छ । सन २०१८/१९ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरूको संख्या २ लाख ३६ हजार २ सय ८ जना छ ।
त्यस्तै गत वर्ष ३ लाख ५४ हजार ९८ जनाले श्रम स्वीकृति लिएका छन् । प्रतिवेदन सार्वजनिक कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारका लागि सरकारले लिएको नीतिको कार्यान्वयन र समस्याको समाधानका लागि प्रतिवेदन महत्वपूर्ण हुने बताए । उनले वैदेशिक रोजगारीमा जानेलाई रोक्नेगरी सरकारले देशभित्रै रोजगारी सिर्जना गर्न यो तथ्याङ्कले सघाउ पुर्याउने बताए ।
वैदेशिक रोजगारीमा जानेहरूमध्ये ८८ प्रतिशत मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतमा रहेको पाइएको छ । ८० प्रतिशत भन्दा बढी १८ देखि ३५ वर्ष उमेर समुहका मानिसहरू वैदेशिक रोजगारीमा जाने गरेका छन् । त्यस्तै सन २०१८/१९ मा ५९ प्रतिशत अदक्ष श्रमिकहरू वैदेशिक रोजगारीमा गएका छन् । मन्त्रालयका सचिव विनोद केसीले वैदेशिक रोजगारीमा जने श्रमिकको क्ष्मता बढाउनुपर्ने प्रतिवेदनले देखाएको बताए । उनले श्रमिकहरू क्षमतावान भएर नगएको कारणले वैदेशिक रोजगारीमा विभिन्न समस्याहरू उत्पन्न हुने गरेको समेत बताए । उनले वैदेशिक रोजगारीमा अझैपनि सुशासन कायम चुनौति देखिएको बताए ।
प्रतिवेदनले वैदेशिक रोजगार क्षेत्रको सुधारका लागि दिर्घकालिन उद्देश्य सहित स्पस्ट धारणा बनाउनुपर्ने, स्थानीय र प्रदेश तहलाई समेत समेट्ने गरी उच्च स्तरीय समिति निर्माण गर्नुपर्ने, त्यस्तै समाजिक सुरक्षा र मतदानको अधिकार दिने लगयतका सुधारका कार्यहरू गर्नुपर्ने आवश्यकता औल्याएको छ । त्यस्तै आन्तरिक र वैदेशिक रोजगारीको विषयवस्तुलाई एक अर्काका परिपूरकको रुपमा स्थापित गरी व्यवस्थित गर्नुपर्ने, वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको स्तरोन्नति गरी प्रभावकारी बनाउनुपर्ने लगायतका विषयमा ध्यान दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।