काठमाडौँ । पुरानो बसपार्कमा भ्यूटावर बनाउने ठेक्का पाएका मनोज भेटवालले प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । उनले महानगरीय प्रहरी परिसर टेकुमा मंगलबार बिहान आत्मसमर्पण गरेका हुन् ।
जलेश्वर स्वछन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक भेटवालले आत्मसमर्पण गरेको प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
उनलाई करोडौँ रुपैयाँ ठगी गरेका आरोपमा प्रहरीले खोजिगरिरहेको थियो । भेटवालविरुद्ध चार करोड ठगी गरेको अभियोग रहेको प्रहरीले जनाएको छ । भेटवाल ठगी गरेको आरोपमा प्रहरीको खोजी सूचीमा थिए। उनी काठमाडौँको पुरानो बसपार्कमा बन्न लागेको भ्यू टावरका मुख्य ठेकेदार हुन् । उनी लामो समयदेखि भारत रहेको प्रहरीले जनाएको थियो ।
डिएसपी बोगटीका अनुसार भेटवाललाई ७५ लाख १० हजार ठगी गरेको भन्दै चन्द्र सिंह धामीले उजुरी दिएका छन्। ठेकेदार भेटवालविरुद्ध सिआइबीमासमेत ठगीको जाहेरी परेको छ ।
बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेर उनलाई मंगलबार नै अदालत लैजाने तयारी छ ।