बैशाख २१, २०८१, शुक्रबार
               

दिवसमै सीमित नारी दिवस : छ वर्षमा ७ हजार बलात्कृत
पीडकसँग मिल्न बाध्य बनाइएका घटना उत्तिकै

ADVERTISEMENT

अन्तर्राष्ट्रिय नारी दिवस धुमधामसँग मनाइँदै गर्दा नेपालमा महिला हिंसाको घटनाको ग्राफ पनि उत्तिकै बढी रहेको छ । नारी दिवसको सन्दर्भसँगै नेपालमा महिला विरुद्ध हुने विभिन्न घरेलु तथा यौनजन्य हिंसा र महिला हक–अधिकारका विषयमा आवाज उठाउने थुप्रै गैरसरकारी सङ्घसंस्थाहरू खुलिरहेका छन् । उनीहरूको नारी हिंसा विरुद्ध तथा नारी सशक्तीकरणलगायतका गतिविधिहरू उत्तिकै बढिरहेको छ । 

विभिन्न नाममा होटेलका सुविधा सम्पन्न हलहरूमा महिलाविरुद्ध हुने हिंसा उन्मुलन गर्ने र महिलालाई उनीहरूको हक–अधिकार दिलाउने विषयमा सभा, गोष्ठी र सेमिनार भई रहन्छन् । यस्ता कार्यक्रमहरूमा सुकिलामुकिला महिलाले महिला विरुद्ध हुने घरेलु तथा यौनजन्य हिंसाका बारेमा उदाहरणसहित चर्का भाषण दिएर ताली र वाहवाही बटुल्ने क्रम पनि बढिरहँदा हिंसाका घटनामा भने कमी नआएको प्रहरीको तथ्याङ्क छ ।

‘यी तथ्याङ्क प्रहरीमा जाहेरी आएका हुन्, अझै कतिपय घटनाहरू हिंसा पीडित महिलालाई पीडकसँग मिल्न बाध्य बनाइएका पनि हुन सक्छन् ,’ प्रहरी प्रवक्ता डिआइजी शैलेश थापाले भने । 

नेपाल प्रहरी, महिला तथा बालबालिका सेलको तथ्याङ्कअनुसार नेपालमा महिला हिंसाको अवस्था भयावह देखिन्छ । बोक्सी आरोप, यौन शोषण, छाउ प्रथा, घरेलु हिंसा लगायतका अपराधबाट महिला तथा बालबालिका पीडित हुने क्रम नघटेको प्रहरीको केन्द्रीय कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । महिला तथा बालबालिकासम्बन्धी अपराध पछिल्ला छ वर्षमा मात्रै १७ हजार हाराहारी भएको प्रहरीको तथ्याङ्क छ । प्रहरीमा जाहेरी दर्ता भई अदालत र प्रशासनमार्फत मुद्दा चलेको विवरण १७ हजार बढी छ भने अझै लुकाइएका घटना तथा पीडितलाई प्रलोभन वा धम्की दिई दबाइएका घटना उत्तिकै छ । विशेष गरी ग्रामीण भेगमा महिला हिंसाको घटना बढेको तथ्याङ्क छ । पीडित महिलाका लागि क्षतिपूर्ति र अन्य हक–अधिकारका विषयमा चर्का नारा लगाउने सङ्घ संस्था बढिरहे पनि यस्ता भाषण र नाराहरू सहरमा मात्र सीमित रहेको देखिन्छ ।

छ वर्षमा ७ हजार ८ सय २९ महिला बलात्कृत

प्रहरी तथ्याङ्कमा पछिल्ला छ वर्षमा ७ हजार ८ सय २९ महिला तथा किशोरी बलात्कृत भएका छन् । २ सय २७ जना महिला बोक्सीको आरोपमा कुटिएका विवरण छन् । १ हजार ३ सय ६१ महिला मानव तस्करको फन्दामा परेका छन् । आर्थिक वर्ष २०७०–७१ मा महिला हिंसासम्बन्धी २ हजार १६ वटा घटना भएका थिए । ०७१–७२ मा २ हजार ३ सय ३१, ०७२–७३ मा २ हजार २ सय ९५ घटना भएका थिए ।

यस्तै ०७३–७४ मा २ हजार ४ सय ३९, ०७४–७५ मा ३ हजार २ सय ५५ वटा घटना भएको प्रहरीको तथ्याङ्क छ । ०७५–७६ मा महिला हिंसासम्बन्धी ४ हजार ४ सय २६ वटा घटना भएका छन् ।

‘यी तथ्याङ्क प्रहरीमा जाहेरी आएका हुन्, अझै कतिपय घटनाहरू हिंसा पीडित महिलालाई पीडकसँग मिल्न बाध्य बनाइएका पनि हुन सक्छन् ,’ प्रहरी प्रवक्ता डिआइजी शैलेश थापाले भने । 

श्रमिक महिलाहरूले कार्यालय तथा घरेलु यौन शोषण, दबाबमा काममा लगाएको, ज्यालादारीमा विभेद, समयमै पारिश्रमिक भुक्तानी नहुने विषयमा गुनासो लिएर प्रहरीमा आउने गरेका छन् । महिला भएकै कारण आइपर्ने समस्यामा पुरुष पक्षले मानवीय संवेदनशीलता नदेखाउने लगायतका समस्या लिएर पीडित पक्ष प्रहरीमा आउने प्रहरी प्रवक्ता थापाले बताए । 

साइबर अपराधीको नजरमा पनि महिला नै

प्रविधिको विकास र विस्तारको क्रमसँगै साइबर अपराधमा महिला नै बढी पीडित छन् । केन्द्रीय साइबर ब्युरोका अनुसार चालु आर्थिक वर्षका ७ महिनामा यससँग सम्बन्धित १ हजार १ सय ८२ उजुरी परेका छन् । जसमध्ये ११ सय ३६ उजुरी फेसबुकसम्बन्धी अपराधका छन् । महिला पीडित भएको उजुरी ६ सय ८३ वटा छन् । ब्युरोले हालसम्म साइबर कसुरसम्बन्धी ३६ वटा मुद्दा चलाएको छ । ब्युरोका निमित्त प्रमुख एसएसपी नवीन्द्र अर्यालले भने, ‘सम्भावित जोखिमप्रति अनभिज्ञ हुँदा इन्टरनेटको दुरुपयोग बढिरहेको छ, जसमा बढी महिलाहरू पीडित देखिएका छन् ।’

घरेलु हिंसाका कारण महिला आत्महत्या दर बढ्दो

घरेलु हिंसा तथा अन्य अपराधबाट सिर्जित परिणामका कारण आत्महत्या गर्नेको सङ्ख्या पनि उत्तिकै छ । आर्थिक वर्ष ०७५–७६ मा मात्रै मुलुकभरमा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा पुरुष र महिला बराबरै रहेका छन् ।

‘पुरुषको तुलनामा महिलाको आत्महत्याको मुख्य कारण घरेलु हिंसा पनि हो, धेरैजसो महिलाहरू घरेलु हिंसाबाट पीडित भई आत्महत्या गर्न बाध्य देखिएका छन्,’ प्रहरी प्रवक्ता थापाले बताए ।

महिलामैत्री प्रहरीको संरचना, तैपनि हिंसाका कमी आएन

महिला बालबालिकासम्बन्धी अपराध हेर्नकै लागि नेपाल प्रहरीले केन्द्रमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय गठन गरेको छ। त्यस मातहत देशभर २ सय १० स्थानमा सेल छ । त्यसबाहेक विद्यालय, सामाजिक सङ्घसंस्था, समुदाय–प्रहरी कार्यक्रममार्फत पनि महिला हिंसाविरुद्धका अभियान चलाइएका छन् । तैपनि हिंसाका घटनामा कमी देखिँदैन । 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि