असोज ०६, २०८१, आइतबार
               

बागमती प्रदेशमा ‘हात नमिलाऔं’ आह्वान

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

बागमती प्रदेश सरकारले कोरोना भाइरस संक्रमणबारे उच्च सतर्कताकाे लागि भन्दै हात नमिलाउने निर्णय गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले हात मिलाउँदा भाइरस एकको शरीरबाट अर्कोमा सर्ने भन्दै हात नमिलाउने निर्णय गरेको हो । 

विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको जनाएपछि प्रदेश सरकारले यसका लागि छुट्टै उपचार कक्ष निर्माण गरिसकेको दाबी गरेको छ । हात मिलाउँदा कोरोना संक्रमण फैलन सक्ने भन्दै ‘हात नमिलाऔं’को नीति अवलम्बन गर्न जनसमुदायमा आह्वान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए ।

बैठकले प्रदेशका संरचना निर्माणका लागि हेटौंडा सिमेन्ट उद्योगको खाली जग्गा उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गर्ने निर्णय समेत गरेको प्रवक्ता मन्त्री ढुंगेलले जानकारी दिए । त्यस्तै प्रदेश सूचनाको हक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत दिने, चालु आर्थिक वर्षका लागि प्रदेश विशेष अनुदानतर्फका थप योजनाहरू स्वीकृत गर्ने पनि बैठकले निर्णय गरेको छ ।

बैठकले साझा यातायात सहकारी संस्था लिमिटेडमा सेयर लगानीको निर्णय खारेज गर्ने निर्णय गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि