असोज ०६, २०८१, आइतबार
               

भोजपुर क्याम्पसमा पाठनपाठन सुचालु गर्न  विद्यार्थीकाे माग

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

शिक्षकको आन्दोलनको कारण एक सातादेखि बन्द भएको भोजपुर क्याम्पसको पाठनपाठन सञ्चालन गर्न  विद्यार्थीले माग गरेका छन् । पठनपाठन सञ्चालनको माग गर्दै स्वतन्त्र विद्यार्थी युनियनले प्रेस विज्ञप्ति जारी गरेको छ भने  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस कमिटी भोजपुरले ध्यानकार्षण पत्र बुझाएको छ । 

गत फागुन १६ गतेबाट आंशिक शिक्षकले करार माग राख्दै ‘पेन डाउन’ गरेपछि ठप्प भएको पाठनपाठनलाई तत्काल निरन्तरता दिन विद्यार्थीले दबाब दिएका हुन् । स्ववियुले ७२ घण्टाभित्र क्याम्पसको समस्या समाधान गरी विद्यार्थीलाई पढ्ने वातावरण बनाइदिन सरोकारवाला समक्ष माग राखेको छ । 

तोकिएको समयभित्र पनि समस्या समाधान नगरे आन्दोलनमा जाने र त्यसको जिम्मा क्याम्पस प्रशासन स्वयंले लिनुपर्ने उल्लेख छ । विद्यार्थीको भविष्यमा खेलवाड भइरहेकाले आन्दोलनरत शिक्षकलाई वैकल्पिक बाटो खोज्नसमेत अनुरोध गरिएको छ । क्याम्पस प्रमुख डा रोहितकुमार श्रेष्ठ काठमाडौँ रहेकाले आन्दोलनरत शिक्षक र क्याम्पस प्रशासनबीच ठोस निर्णय हुन नसकेको निमित्त क्यम्पस प्रमुख नीलमणि भट्टराईले जानकारी दिए ।  

निमित्त प्रमुख भट्टराईले भने, “उनीहरूको मागका विषयमा क्याम्पस प्रशासन गम्भीर छ, त्यस विषयमा हामीले माथिल्लो निकायमा जानकारी गराएको छौँ, मैले वार्ताका लागि पहल गरेको भए पनि उहाँहरुले क्याम्पस प्रमुखसँग मात्र वार्तामा बस्छौँ भनेपछि हामीले क्याम्पस प्रमुखलाई काठमाडौँबाट बोलाएका छौँ ।” आन्दोलनरत शिक्षकले भने पेशाको ग्यरेन्टी नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

लामो समयबाट ज्यालादारीमा सेवा गर्दै आएको भए पनि त्रिभुवन विश्वविद्यालयले वौद्धिक शोषण मात्र गरेकाले लिखितरूपमा पेसा ग्यरेन्टी गर्नुपर्ने उनीहरूको माग छ ।

आंशिक शिक्षक सङ्घ भोजपुरका अध्यक्ष शक्ति राईले भने, “हामी १२ देखि १९ वर्षसम्म ज्यालादारीमा काम गर्दै आएका शिक्षक छौ‌ं, तर यतिका लामो समयसम्म पनि हामीलाई करार बनाउने कुनै पहल भएन, यसर्थ लिखित रुपमा पेसाको ग्यारेन्टी भएन भने हामी माथिल्लो निकायमा गएर सामूहिक राजीनामा दिई थप आन्दोलनका कार्यक्रमका अगाडि बढाउँछौँ ।” भोजपुर क्याम्पसमा १५ शिक्षक दैनिक ज्यालादारी काम गर्दै आएका छन् । क्याम्पसमा विभिन्न सङ्कायमा गरी ६०० बढी विद्यार्थी अध्ययनरत छन् ।


कस्तो लाग्यो ?

यो पनि