असोज ०६, २०८१, आइतबार
               

मास्कमा कालोबजारी, १० रुपैयाँ पर्ने माक्सलाई ५० रुपैयाँ

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमणको त्राससँगै बजारमा मास्कको कालोबजारी सुरु भएको छ । कोरोना संक्रमण रोक्ने भनिएको (एन नाइन्टी फाइभ) मास्क मात्र नभर्इ नेपालमै उत्पादन हुँदै आएको सर्जिकल मास्कमा समेत कालोबजारी सुरु भएको हो । 

नेपालमा करिब ७५ प्रतिशत मास्क चीनबाट आयात हुने गरेको छ ।  तर चीनमा कोरोनाभाइरसको संक्रमणले गर्दा नेपालमा मास्क अभाव भएको हो । 

केही समयअघि १० रुपैयाँ पर्ने  ‘युज एन्ड थ्रो’ मास्क अहिले ५० रुपैयाँमा किन्नुपरेको र कतिपय अवस्थामा त्यो पनि पाउन छाडेको नयाँ बानेश्वरमा बस्दै आएका मनोज ओझाले बताए ।

काठमाडौंको थापाथलीस्थित एक बिक्रेताले भने,‘‘दैनिक विभिन्न संघ संस्थाले लाखौं मास्कको माग गर्छन् । तर पछिल्लो एक महिनायता मास्क पठाउन सकिएको छैन । दैनिक सयौं व्यक्ति मास्क खोज्न आउँछन् । मास्क, मास्क भन्दै हैरान पारिसके ।’’ 

मास्कको साँच्चिकै अभाव भएको हो वा कृतिम अभाव सिर्जना गरिएको हो सरकारी संयन्त्रले अनुगमन गर्नुपर्ने सेवाग्राही बताउँछन् । 

एक मेडिकल सञ्चाकलका अनुसार बजारमा मास्क, स्यानिटाइजर, ग्लोब्सलगायतका वस्तुहरुको पनि अभाव छ । 

उनले भने,“केही समय एक प्याकेट मास्कको अगाडि २५० रुपैयाँ पर्ने मास्क अहिले होलसेलले नै १५ सय भन्दा धेरै लिन लागे । त्यसपछि हामीले मास्कको व्यापार गर्न नै छाड्यौँ ।”

थापाथलीमा रहेको सोसाङ फार्मेसीमा ‘यहाँ मास्क छैन’ नै भनेर लेखेर
टासिएको छ । 

टेकु अस्पतालमा कोरोनाको आशंकामा ‘आइसोलेसन’मा बसेको समाचार सार्वजनिक भएपछि मास्कको खोजी गर्नेको संख्या ह्वात्तै बढेको व्यवसायी बताउँछन् । तर अस्पतालले भने अहिलेसम्म आइसोलेसनमा बसेका २३ जनामा कोरोना पुष्टि नभएको स्पष्ट पार्दै आएको छ ।

फार्मेसीमा मात्र नभएर अस्पतालमा समेत मास्कको अभाव देखिएको छ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी एक महिलाले अस्पतालले आफूहरुलाई केहि हप्तादेखी मास्क दिन दिन छाडेको बताइन् ।

उनका अनुसार अस्पतालको अपरेसन थिएटरबाहेक अरुलाई मास्क दिन छाडिएको छ । एन ९५ मास्क चीनबाट आयात गरिँदै आएको थियो । जसको मूल्य २ सयदेखि माथि पर्ने व्यवसायी बताउँछन् ।

राम्रो खालको मास्कलाई पाँचहजारसम्म पर्ने उनीहरुको भनाइ छ । तर अहिले त्यो मास्क पाइँदैन, कतै पाइहालियो भने तीनगुणासम्म बढी तिर्नुपर्छ ।


 


कस्तो लाग्यो ?

यो पनि