असोज ०६, २०८१, आइतबार
               

बागमती प्रदेशमा सूचना बैङ्क सञ्चालनको तयारी

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

हेटौडा प्रदेशका सबै कार्यालयको सूचना एउटै पोर्टलमा प्राप्त गर्न सक्ने गरी सूचना बैङ्क सञ्चालन गर्न सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेशले सोमबार हेटौडामा सरोकारवालासँग छलफल गरेको छ ।

डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न र सरकारी तथा सार्वजनिक निकायका सूचना एकद्धार प्रणालीबाट नागरिकलाई उपलब्ध गराउन सूचना बैङ्कको सञ्चालन गर्नु पर्ने कानुनी व्यवस्थालाई कार्यान्वयन गराउन यो यस्तो छलफल आयोजना गरिएको हो । प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ को दफा ५५ मा प्रदेशका सरकारी तथा सार्वजनिक निकायबाट प्रकाशित सामग्री सूचना तथा निर्णय सङ्कलन गरी नागरिकलाई उपलब्ध गराउन सूचना बैङ्क स्थापना गर्नु पर्ने व्यवस्था छ । 

सोही ऐनको व्यवस्थालाई कार्यान्वयन गर्न सञ्चार रजिस्ट्रार कार्यालयको परामर्शमा डिजाष्टर रिकभरी केन्द्रका इन्जिनियरद्वय आशिष् झा र प्रवीण चौहानले तयार गरेको अवधारणा माथि छलफल भएको हो । सूचना बैङ्क सञ्चालन गर्ने सम्बन्धी कानुनी व्यवस्थाका बारेमा सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटा, सूचनाको हक सम्बन्धी संघीय कानुनका बारेमा पूर्वसूचना आयुक्त किरण पोखरेल र प्रादेशिक कानुनका बारेमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सरस्वती न्यौपानेबाट छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरिएको थियो । 

आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सूचना बैङ्कलाई प्रदेश सरकारले तुरुन्तै कार्यान्वयनमा लैजाने बताए । ‘यो आवश्यक छ,त्यसैले यसलाई हामी कार्यान्वयनमा लैजान्छौ’ मन्त्री जम्कट्टेलले भने ‘सूचना बैङ्क र सूचनाको हक सम्बन्धी कानुन कार्यान्वयनमा लैजान एक आपसमा जोडिएका हुन्छन्, त्यस कारण यसलाई समन्वय गरेर अगाडि बढ्नु पर्ने हुन्छ ।’

सञ्चार रजिस्ट्रार सापकोटाका अनुसार पहिलो चरणमा प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेशका मन्त्रालय, प्रदेशसभा, नीति योजना आयोग र प्रदेशका केन्द्रीय निकायका वेबसाइटमा अपलोड हुने सूचना सूचना बैङ्कमा देखिने प्रणाली विकास गर्न खोजिएको छ । ‘दोस्रो र तेस्रो चरणमा प्रदेशभरका सरकारी कार्यालयका सूचना एक ठाउँमा देखिने प्रणाली विकास गरिनेछ’ सापकोटाले भने ‘सात वटै प्रदेशले यस्तो सूचना बैङ्क सञ्चालन गरेपछि त्यसलाई संघीय सरकारले लिङ्क गरी नेपालको सूचना बैङ्क बनाउन पनि मद्दत पुग्नेछ ।’ 

सापकोटाका अनुसार बागमती प्रदेश मन्त्रालय तथा प्रदेश अन्तर्गतका निर्देशनालयका प्रवक्ता, सूचना अधिकारी र कम्प्युटर अधिकृतसहितका सरोकारवाला सहभागी रहेको कार्यक्रमले सूचना प्रविधिमैत्री सेवा प्रवाह गर्ने विषयमा झकझक्याएको छ । ‘सरोकारवालाको सहयोग प्राप्त भएमा सूचना बैङ्क सञ्चालन गरेर डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न सकिने विश्वास पलाएको छ । यसका लागि सबै सरोकारवालाले आ आफ्नो ठाउँबाट योगदान गर्नु पर्नेछ’ सापकोटाले भने । 

प्रदेश सञ्चार माध्यम व्यवस्थापन नियमावलीमा नागरिकको सूचनाको हकलाई व्यवहारमा कार्यान्वयन गराउन,पत्रकारिताको विकास तथा क्षमता अभिवृद्धि गर्न सूचनाको पहुँच बढाउन, सरकारी सूचना  प्रणाली,तथ्य तथ्याङ्क एवं जानकारी एकद्धार प्रणालीबाट उपलब्ध गराउन, सूचनाको पहुँचलाई प्रविधिमैत्री बनाई स्वतः अद्यावधिक हुने गरी अटोमेशनमा लैजान सूचना बैङ्क महत्त्वपूर्ण हुनेछ ।

प्रदेश सरकारका र सरकारी निकायका सार्वजनिक सूचना, जानकारी, सेवा दस्ताबेजमा सहज पहुँच स्थापना गर्ने गरी सूचना पोर्टल तयार गर्न र अद्यावधिक गर्न, प्रदेश सरकारका महत्त्वपूर्ण बैठक, निर्णय र घटना आमसञ्चार माध्यमलाई उपलब्ध गराउन सहजीकरण गर्न, बैङ्कले प्रवाह गर्नु पर्ने सम्पूर्ण सूचनाहरूलाई विद्युतीय अभिलेखीकरण र भण्डारण गर्नुको साथसाथै नागरिकको सूचनासम्म सहज पहुँचका लागि डाटाबेस र वेबसाइट निर्माण गरी अद्यावधिक गर्न सूचना बैङ्क उपयोगी हुने नियमावलीमा उल्लेख छ । 

नागरिकलाई छिटो सेवा उपलब्ध गराउन, सरकारी निकायको उत्पादन क्षमता बढाउन, सुशासन कायम राख्न, नागरिक सहभागिता बढाउन सूचना बैङ्क उपयोगी हुने आइटी इन्जिनियर अविनाश झाले बताए । कोरिया, सिंगापुर, भारत, अमेरिका लगायतका मुलुकले सूचना बैङ्क सञ्चालन गरेर आफ्ना नागरिकलाई सहज सेवा प्रदान गर्दै आएका छन् । सूचना बैङ्क अनुसन्धानकर्ता, पत्रकार, नागरिक सबैलाई उपयोगी हुने भएकोले यसका लागि सरोकारवालाको सहयोग अपरिहार्य रहेको झाले बताए । अर्का इन्जिनियर प्रवीण चौहानका अनुसार एउटै पोर्टलबाट गुणस्तरीय सूचना पाउन र  सामान्य रूपमा डिजिटल साक्षर नागरिकले पनि सूचना उपयोग गराउन सूचना बैङ्क उपयोगी हुने छ । 


कस्तो लाग्यो ?

यो पनि