असोज ०६, २०८१, आइतबार
               

ट्याक्सी चालकलाई ट्राफिकको सम्मान

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले असल ट्याक्सी चालकहरुलाई सम्मान गरेको छ । 

महाशाखाले ट्याक्सीमा छुटेको नगद, गरगहना र महत्वपूर्ण सामान आफैं आएर महाशाखामा बुझाउने ट्याक्सी चालकहरुलाई सोमबार सम्मान गरेको हो । 

आर्थिक वर्ष २०७६-०७७ भित्र विभिन्न समयमा यात्रुले ट्याक्सीमा छोडेको सामान बुझाउन ल्याउने २१ जना चालकलाई सम्मान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले बताए । 

उनले यात्रुहरुले यात्रा गर्दा भुलेर ट्याक्सीमा कुनै सामान छुटेको र ट्याक्सी चालकहरुले आफैं प्रहरीमा बुझाई मानविय सहयोग गरेकाले सम्मान गरिएको बताए ।

आफ्नो ट्याक्सीमा छुटेका सामान इमान्दार भएर फिर्ता गर्दा ट्राफिक प्रहरीले सम्मान गरेकोमा आफुहरुलाई अझ बढी जिम्मेवार बनाएको ट्याक्सी चालकहरुले बताएका छन् । 

ट्याक्सी चालक रिधबहादुर थापाले ट्राफिक प्रहरीबाट असल ट्याक्सी चालकको रुपमा सम्मानित हुन पाउँदा थप हौसला मिलेको बताए । 

ट्याक्सी चालक रोएत बहादुर रोक्काले आफ्नो ट्याक्सीमा छुटेको समान प्रहरीमा बुझाउँदा सम्मानित हुन पाउनु खुशीको कुरा भएको बताए । 

उनले भुलवस ट्याक्सीको पछाडी समान छुट्ने तर आफुहरुले थाहा नपाउँदै अर्को प्यासेन्जरले सामान लगेको अवस्थामा उजुरी पर्दा आफूहरुलाई समस्या पर्ने गरेको गुनासो गरे । यस्तो अवस्थामा प्रहरीले उचित अनुसन्धान गर्नुपर्ने उनले बताए ।

ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको फागुन १६ गते भित्र ट्याक्सीमा छुटेको सामान आफैंले प्रहरीमा बुझाएका २१ जना ट्याक्सी चालकहरुलाई सम्मान गरेको हो ।

त्यस्तै यो अवधिमा ट्याक्सीमा सामान छुटेर आवेदन दिनेको संख्या ३ सय ९५ जना रहेको र त्यस मध्ये २ सय ८० जनाको १ करोड ४८ लाख ६० हजार ३ सय ६५ रुपैयाँ बराबरको सामान फेला परेको छ । 

त्यस्तै ६३ जनाको निवेदन अनुसार सवारी साधन फेला परे पनि सामान पाउन नसकिएको र ५२ जनाको सवारी नम्बर समेत फेला नपरेको ट्राफिक प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि