असोज ०६, २०८१, आइतबार
               

मन्त्रीको आदेशमा अतिक्रमित बस्तीमा डोजर चल्यो

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

वर्षौंदेखि अतिक्रमणमा परेको जग्गामा आइतबार मन्त्रीको आदेशमा डोजर चलेको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्याल काठमाडौैंबाट अतिक्रमित जग्गामा बनेका ३० घर तथा टहरा भत्काउन आफैं जिल्ला झरेकी थिइन् । 

गौशाला बजार क्षेत्रमा वर्षौंदेखि जग्गा अतिक्रमण गरी व्यापार व्यवसाय गर्दै आएकाहरुको घर र पसल मन्त्री अर्यालको आदेशमा भत्काइएको हो । गौशाला बजारमा करिब १५ कट्ठा जग्गा अतिक्रमण भएको थियो ।

गौशाला नगरपालिका ५ स्थित निगौल गाई गौशालाको अतिक्रमण गरी बनाइएका घर र अतिक्रमणमा परेका घर जग्गा खाली गराउन दर्जनौं संख्यामा प्रहरी परिचालन गरिएको थियो । विगतमा पटक पटक लिखित तथा मौखिक सूचना तथा अदालत समेतको आदेशको अवज्ञा गर्दै बसेकाकालाई घर र पसल तत्काल हटाउन मन्त्रीले आदेश दिएकी थिइन् । 

मन्त्री अर्यालले प्रदेश २ मात्र नभई देशभरि नै जग्गा अतिक्रमणको समस्या रहेको बताउँदै अतिक्रमित जग्गा फिर्ताको लागि अभियान चालेको बताइन् । उनले गौशालाकै जग्गाको सन्दर्भमा बोल्दै पहिले नै घर तथा टहराहरु भत्काउने योजना भए पनि स्थानीय स्तरबाटै गुनासो आएपछि गुनासो समाधान पश्चातमात्र भत्काउने भन्दै सबै समस्या सम्बोधन गरी भत्काउन आएको स्पष्ट पारेकी छन् । 

घर तथा टहराहरु भत्काउँदै गर्दा सुकुमबासीको बारेमा पनि आफूले सोचेको र उनीहरुलाई तत्काल स्थानीय तहमार्फत बासको व्यवस्थासमेत मिलाइदिने आश्वासन दिइन् । गाई गौशालामै पहिलेका हाकिमसँग पैसा तिरेर जग्गा किनेको र अहिले खोसिँदा आफूहरु सुकुमबासी हुन पुगेको स्थानीयले गुनासो गरेका छन् । 

स्थानीय अर्जुन मण्डलले गाई गौशालाका पूर्वकर्मचारी तथा हाकिमहरुकै मिलोमतोमा विगतमा बिघौं जग्गा अतिक्रमण गरिएको भन्दै ती हाकिम तथा कर्मचारीहरुमाथि अनुसन्धान भई उनीहरुलाई समेत कारबाहीको गर्नुपर्ने स्थानीले माग गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि