काठमाडौँ । सरकार र सदनमा यति होल्डिङ्सले भाडामा लिएको सरकारी जग्गाको विषय विवादमा परिरहँदा सोही समूहका दिगंवत आङछिरिङ शेर्पाका छोरा भने एक महिनादेखि गुमनाम रुपमा प्रहरी हिरासतमा छन् ।
व्यापारिक घराना यति होल्डिङ्सका अध्यक्ष थिए आङछिरिङ । उनकै जोडबल र पहुँचमा यो समूह व्यापारिक घराना बनेको थियो । उनका छोरा नवाङ पासाङलाई भने अहिले लागुऔषधजस्तो जघन्य फौजदारी अभियोग लागेको छ ।
उनलाई महानगरीय प्रहरी स्वयम्भू वृत्तले पक्राउ गरे पनि अहिलेसम्म सार्वजनिक गरेको छैन । सानोतिनो परिमाणमा लागुऔषध बरामद गर्दा पनि प्रहरीले सार्वजनिक गर्ने गरेकोमा नवाङ भने त्यसको अपवाद बनेका छन् ।
लागुऔषधसहित पक्राउ परेका उनलाई बुधबारमात्रै जिल्ला अदालतमा थुनछेकका लागि पठाइएको थियो । त्यसपछि मात्र यो प्रकरण सार्वजनिक भएको हो ।
नवाङ माघ १८ गते काठमाडौँको स्वयम्भूबाट पक्राउ परेका थिए । उनीसहित चार जनाको मुद्दाको काठमाडौँ जिल्ला अदालतमा बुधवार बयान सुरु भएको थियो । जिल्ला न्यायाधीश विदुर कोइरालाको इजलासमा तीन जनाको बयान बुधवार सकिएको छ । नवाङको भने बिहीबार बयान हुँदै छ । त्यसपछि थुनछेक आदेश हुने अदालतले जनाएको छ ।
काठमाडौँ महानगरपालिका–१५, भुइँखेलस्थित गुणलक्ष्मी लामाको घरमा डेरा गरी बस्ने ओमबहादुर गुरुङको कोठाबाट आङछिरिङका छोरा नवाङसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा राजन श्रेष्ठ, सपना रायमाझी र ओमबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइन १०० मिलिग्राम, नाइट्रोजन १० ट्याब्लेट, डाइजेपाम ६ पिस, नोफिन २ पिस, फेनगोजान ३९ पिस, सिरिन्ज १२ थान बरामद गरेको थियो । आङछिरिङका छोरा पक्राउ परेको घटनालाई भने प्रहरीले गोप्य राख्न खोजेको थियो । उनी यसअघि हतियारसहित पक्राउ परेको भए पनि महाराजगन्ज प्रहरीले बाबुलाई बोलाएर जिम्मा लगाएको थियो ।