लोकगीतका सर्जक देउबहादुर दुराको स्मृतिमा लमजुङ नगरपालिका- १० स्थित हाँडीखोला नास्के–वर्धन गाउँमा संग्रहालय निर्माण गरिएको छ । नगरपालिकाको १८ लाख रुपैयाँ र स्थानीयबासीको सहयोगमा संग्रहालय निर्माण गरिएको हो ।
देउबहादुर दुरा स्मृति प्रतिष्ठान हाँडीखोला लमजुङले मध्यनेपाल नगरपालिका–१० हाँडीखोलाको नास्के–वर्धन गाउँमा सो स्मृति सङ्ग्रहालय बनाएको हो ।
नवनिर्मित सङ्ग्रहालयको बिहीबार नगरप्रमुख रमेशकुमार पाण्डेले शुभारम्भ गरे । हाँडीखाेला नास्केट-वर्धन गाउँमा जन्मिएका दुराले ठाडोभाकाका माध्यमले सिङ्गो लमजुङलाई चिनाएको बताउँदै उनले दुराको सम्मानमा गाउँमै सङ्ग्रहालय स्थापना गर्न पाउनु गर्वको विषय रहेको बताए ।
ठाडोभाका संरक्षण समितिका संरक्षक बुद्धिमान दुरा धम्पुले नेपाली गीत–सङ्गीत क्षेत्रलाई ठूलो गुन लगाएको बताउँदै नवपुस्तालाई उनको बारेमा चिनाउने आधार निर्माण गर्नुपर्ने बताए । दुराका सहपाठी करापुका पञ्चै सुब्बा गुरुङ, नाचमा साथ दिने भैरे रानाभाटलगायत सर्जकलाई पनि भुल्न नहुनेमा जोड दिए ।
वडाध्यक्ष रामचन्द्र भण्डारीले हाँडीखोलालाई नमूना गाउँका रुपमा चिनाइने र लोकसंस्कृतिको अनुपम गन्तव्यका रुपमा विकास गरिने बताए । कार्यक्रममा घाँटु र कृष्णचरित्र नृत्य पनि प्रस्तुत गरिएको थियो ।
विसं १९४७ फागुन ८ गते जन्मिएका देउबहादुर दुराले आफ्नो जीवनकालमा करापुटारको शिवरात्रि मेलालगायत चाडपर्वमा ठाडोभाका गीत गाएरै मनोरञ्जन गराएको स्मृति सङ्ग्रहालयका अध्यक्ष पूर्णबहादुर दुराले जानकारी दिए ।
हट्टाकट्टा र बलियो शरीर भएका देउबहादुर निकै रसिक स्वभावका भएकाले ठाडोभाका गीत गाएर श्रोतालाई मनोरञ्जन गराउने अग्रजले बताएको अध्यक्ष दुराले बताए । झन्डै ४८ वर्षका उमेरमा विसं १९९५ फागुनमा देउबहादुरको मृत्यु भएको थियो ।