महाशिवरात्रीको अवसरमा यतिबेला पशुपतिनाथमा भक्तजनहरुको भीड जम्मा भएको छ । पशुपति क्षेत्र विकास काेषका अनुसार २० लाख भक्तजनले यस अवधीमा पशुपतिनाथ दर्शन गर्नसक्छन् ।
कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा नेपाल भ्रमण वर्ष २०२० का लागि देश–विदेशमा प्रचार भइरहेकाले दर्शनार्थीको संख्या विगतभन्दा बढेको बताउँछन् ।
कोषले शिवरात्रिको अवसरमा पशुपतिनाथ दर्शनमा आउने दर्शनार्थीहरूलाई निःशुल्क भोजन, पिउनेपानी, स्वास्थ्य सेवालगायतको व्यवस्था गरेको छ । यस्तै, दर्शनार्थीहरूले बढीमा डेढ घन्टासम्ममा दर्शन गरिसक्ने व्यवस्था मिलाइएको खतिवडाले जानकारी दिए । कोषका अनुसार आगन्तुक र दर्शनार्थीहरूको सुरक्षाका लागि लागि पाँच हजार सुरक्षाकर्मी, पाँच सय सादा पोसाकका प्रहरी परिचालन भएका छन् । उनीहरूलाई १० हजार स्वयंसेवकले सघाउनेछन् । दर्शनार्थीहरूले बिहान चार बजेबाटै पशुपतिमा दर्शन गर्न थालिसकेका छन् ।
पशुपति दर्शन गर्न चाहनेले मित्रपार्क, जयबागेश्वरी, गौशाला,लगायत चारैतिरबाट लाइन बस्न सक्नेछन् । पशुपतिनाथ मन्दिरसँगै आज देशभरकै मन्दिरमा दर्शन गर्न दर्शनार्थीहरुको भीड लाग्ने गर्छ । नेपालीसँगै ठूलो संख्यामा भारतीय पनि महाशिवरात्रीका लागि आउने गरेका छन् ।