मंसिर ०७, २०८१, शुक्रबार
               

नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माणले गति लियो

नेपाल फ्ल्यास
फागुन ०८, २०७६

ADVERTISEMENT

काठमाडौँका बढी पैदलयात्रुले सडक पार गर्ने चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माण चाँडै सम्पन्न हुने भएको छ । 

सो पुलको डिजाइनमै समय बढी लागेको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताए । 

पुल निर्माणको अवधि गत पुसमा सकिएको छ । अहिले नियमित रुपमा निर्माण भइरहेकाले केही समयपछि सम्पन्न हुने उनले बताए । ‘बाँकी काम पनि अहिले नियमित रुपमा अघि बढेको छ,’ उनले भने । 

डिभिजन सडक कार्यालय काठमाडौँले गत चैतमा आठ महिनामा आकाशेपुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता भइसक्दा पनि सडकमा रहेका खानेपानीको पाइप, विद्युत्को पोललगायत संरचना हटाउन नसकिएका कारण निर्माण शुरु गर्न केही ढिलाइ हुन गएको थियो । अहिले ती सबै संरचना हटाइ सकिएकाले नियमित रुपमा काम भइरहेको हो । 

यस स्थानमा महानगरपालिकाको आकाशेपुल निर्माणको योजना नभएकाले कार्यालयले अघि बढाएको थियो । संघीय सरकारले निर्माण गरेका सडकमा सकेसम्म आफैँले आकाशेपुल निर्माण गर्ने प्रमुख नेपालीले बताए । 

सडक विभागले काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत कोटेश्वर–कलंकी सडकखण्डमा पनि छ स्थानमा आकाशेपुल निर्माण गरिरहेको छ । 

कार्यालयले भने नयाँ बानेश्वर र कोटेश्वर गरी दुई स्थानमा आकाशेपुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।  कोटेश्वर चोकमा पनि आकाशेपुल निर्माणको प्रक्रियाअघि बढे पनि वडा कार्यालयले स्थान परिवर्तनको माग गरेपछि अघि बढ्न सकेको छैन । 

काठमाडौँ महानगरपालिकाले माइतीघर, टेकुलगायत स्थानमा आकाशेपुल निर्माण गर्ने भनेको छ । 

माइतीघरमा पुल निर्माणको अवधि गत मङ्सिरमा सकिएपनि सम्पन्न भएको छैन । 

यो पनि