जेठ ०७, २०८१, सोमबार
               

उच्च अदालतको आदेशपछि गृहमन्त्रीका भाइ फरार

नेपाल फ्ल्यास
माघ २९, २०७६

ADVERTISEMENT

काठमाडौं । संगठित अपराधमा पक्राउ परी धरौटीमा छुटेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमारलाई थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएपछि उनी फरार भएका छन् । उच्च अदालतको आदेश आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले थापालाई बुधबार खोजी गरेको भए पनि फेला पर्न सकेन । 

सिआइवीले थापाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा संगठित अपराध मुद्दा चलाएको थियो । सो मुद्दामा जिल्ला अदालतले दिएको धरौटीमा राख्ने आदेशलाई पाटन उच्च अदालतले उल्ट्याएको हो । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले उनलाई गएको असोजमा एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । साधारण तारेखमा बस्न पाउँभन्दै थापाले उच्च अदालतमा दिएको निवेदन उपरनै न्यायधीशद्वयको इजलाशले धरौटीमा छाड्ने आदेश उल्टाएको हो । 

केन्द्रीय कारगारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्क्याएर रकम असुलेको आरोपमा थापा पक्राउ परेका थिए । बस्नेत निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या आरोपमा जेलमा छन् ।

थापासहितका ६ जनाले थुनामा रहेका विवादास्पद अभियुक्त बस्नेतसँग मिलेर व्यवसायीबाट रकम असुलेको अभियोग कायमै छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचन हत्याका एक अभियुक्त बस्नेतले जेलबाटै चलाएको असुलीसँग जोडेर प्रहरीले पक्राउ गरेको थियो ।

हुलाकी राजमार्ग निर्माणको ठेक्कामा बस्नेत समूहले पैसा असुली गर्न खोजेको थियो । पैसा नपाएपछि गौचनको ०७४ असोज २३ मा नयाँ बानेश्वरको शान्तिनगर ठूलो खरिबोटनजिक दिउँसै हत्या भएको थियो । 

सोही समूहसँगको मिलेमतो रहेको भन्दै गृहमन्त्री थापाका भाई नरेशसहित ६ पक्राउ गरेको थियो । उनीसँगै पक्राउ परेका पवन खड्का, वीरबल भट्टराई, सुरेन नगरकोटी बलामी, शैलेस प्रजापति र विनोद लामा भने पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

सो आदेशसँगै पाँचै जना आरोपित कारागार चलान भएका छन् भने गृहमन्त्रीका भाई नरेशमात्रै धरौटीमा रिहा भएका थिए । सिआइवी उच्च स्रोतकाअनुसार बुधबार साँझसम्म प्रहरीले उनी रहने आसपासमा खोजी गरेको थियो । उनलाई नभेटेपछि बिहीबार परिसर मातहतको प्रहरी परिचालन गर्ने तयारी भएको छ ।


कस्तो लाग्यो ?

यो पनि