जेठ ०७, २०८१, सोमबार
               

पानी आयो, बुहारी भित्रिन थाले

नेपाल फ्ल्यास
माघ २६, २०७६

ADVERTISEMENT

राजेन्द्रप्रसाद पनेरु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ चुरे क्षेत्र वरिपरिका खेतमा सिँचाइको व्यवस्था नहुँदा बुहारी नै पाउन मुस्किलमा परेका स्थानीय अब भने ढुक्क भएका छन् । सो स्थानमा अब सिँचाइ हुन थालेपछि गाउँले मख्ख परेका छन्, अब गाउँमा बिहेवारि बुहारी भित्राउन पनि सहज भएको छ । 

सिँचाइको अभावमा उब्जनी थोरै मात्र हुन्थ्यो । उब्जिएका अन्नले परिवारको वर्षभरिको छाक टार्न पनि निकै मुस्किल हुन्थ्यो । गाउँको उब्जनीले छ महिना पनि पेट६ पाल्न नसक्दा अधिकांश बासिन्दा भारतमा मजदुरीका लागि जान बाध्य थिए ।     

खेतमा सिँचाइको व्यवस्था नहुँदा खान त के, बुहारी भित्र्याउनसमेत यहाँका बासिन्दालाई मुस्किल रहेको वडाध्यक्ष शङ्करसिंह कुँवरले जानकारी दिए, “बुहारी खोज्न जाँदा सिँचाइको व्यवस्था भए नभएको यकिन गर्दथे । अनि अवस्था बुझेपछि छोरी दिन सबै अन्कन्याउँथे ।”

“त्यसमाथि खानेपानी पनि निकै टाढाबाट बोकेर ल्याउनु पर्थ्यो । यो समस्याबाट पार पाउन गाउँपालिकाले निर्वाचनपछि पहिलो प्राथमिकतामा नै सिँचाइलाई राख्यो । उनले भने, “स्थानीयको खेतमा अब सिँचाइ सुविधा पुगेको छ । सबैलाई वर्षभरि खान पुग्ने भएको छ । उत्पादन बढेको छ । अब बुहारी भित्राउन सास्ती व्यहोर्नु पर्दैन । पानी आयो, बुहारी पनि भित्रिन थाले ।”

सिँचाइको व्यवस्थाले स्थानीय बासिन्दा व्यावसायिक केरा खेती र तरकारी खेती गर्न थालेका छन् । आम्दानी तीन गुणाले बढेको छ । घरमै बसीबसी कमाई गर्न थालेका छन् ।

स्थानीय दानी गिरी अब सिँचाइ र खानेपानीको अभाव नभएको बताउँछन् । विगत सम्झँदै उनले भने, “खानेपानीका लागि पनि सास्ती खेप्नु पर्दथ्यो । पहाडबाट तराई झर्दा सुख होला भन्ने थियो । यहाँ आएपछि झन् कष्ट भयो ।”

चुरे क्षेत्र नजिकका बासिन्दा भनेपछि कसैले पनि छोरी दिन मान्दैनथे । हाल सडक, सिँचाइ, खानेपानीको व्यवस्था भएपछि बुहारी ल्याउन कठिन छैन, उनले भने, “नजिकैको चुरे क्षेत्रमा रहेको धार्मिक क्षेत्रमा समेत सडकसहितका पूर्वाधार विकास हुन थालेको छ ।” 

महाकाली सिँचाइ आयोजनाले समेत चुरे क्षेत्रका बासिन्दालाई छोएको छैन । चालू आर्थिक वर्षमा सिँचाइ र खानेपानीको आपूर्तिलाई निरन्तर गर्नका लागि वडा कार्यालयले १०० केभीका दुई ट्रान्सफर्मर जडानसँगै सिँचाइ कुलो मर्मत, पक्की कुलो निर्माण, भूमिगत सिँचाइ मर्मत सम्भारको काम गरेको छ ।

डेढ दर्जन बढी डिप ट्युबेल सिँचाइ सुविधाका लागि निर्माण गरी स्थानीय किसानको खेतमा सिँचाइ सुविधा पुगेको छ ।  एक डिपट्युबेलबाट ६० बिघा जग्गामा सिँचाइ सुविधा उपलब्ध हुन्छ । डिपट्युबेल र स्यालोट्युबेलबाट झन्डै ८०० बिघा खेतमा सिँचाइ सुविधा पुगेको छ । वडामा एक हजार ८४ परिवारको बसोबास छ ।


कस्तो लाग्यो ?

यो पनि