जेठ ०७, २०८१, सोमबार
               

रोहिंग्याको रंगहीन जीवन !

नेपाल फ्ल्यास
माघ २२, २०७६

ADVERTISEMENT

पाँच वर्षअघि म्यानमारबाट लखेटिएका रफिक आलम बंगलादेश र भारत हुँदै नेपाल आइपुगे ।

म्यानमार सरकारको चरम दमन, शोषण र अत्याचार खप्न नसकेपछि उनी देशबाटै लखेटिएका हुन् । सरकारले जहाँ भेट्यो, त्यहीँ गोली हान्ने खतरा बढेपछि उनी देश छाडेर भागेका हुन् ।

देश छाडेर त भागे तर कहाँ जाने ? उनीसँग कुनै ठोस विकल्प थिएन । यद्यपि, सीमा क्षेत्र भएकाले उनी बंगलादेश आए । बंगलादेशमा पनि बस्न सक्ने स्थिति नभएपछि भारत आइपुगे ।

उनका लागि भारतमा झनै सहज स्थिति थिएन । अति हेपिएर बस्न नसकेपछि नेपालतिर लागे । पाँच दिन भोकभोकै हिँडेर विराटनगर आइपुगे ।

रफिक आलमका तीन दिदी अहिले पनि कहाँ छन् ? थाहा छैन । म्यानमार सरकारले मार्यो वा रफिकजस्तै कुनै देशमा शरण लिएर बसेका छन् ? उनकी आमा बंगलादेशको एक शरणार्थी शिविरमा छिन् ।

विराटनगर आइपुग्दासम्म उनलाई ‘नेपाल भन्ने देश छ’ भन्ने थाहा नै थिएन । उनलाई त नेपाल भनेको भारतकै एउटा प्रान्तजस्तो मात्रै लाग्दो रहेछ । अन्धाधुन्ध हिँड्दै विराटनगर आइपुगेपछि मात्रै उनलाई नेपाल एउटा बेग्लै स्वतन्त्र देश भन्ने थाहा भयो ।

रफिक आलम त एक प्रतिनिधि पात्र मात्रै हुन् । अहिले करिब ६ सय रोहिंग्या शरणार्थी नेपालमा छन् । यसको आधिकारिक तथ्यांक त नेपाल सरकारसँग पनि छैन । यद्यपि, कपनस्थित राममन्दिर आसपासमा तीन वटा टहरो बनाएर ३ सय ४५ रोहिंग्या शरणार्थी बसिरहेका छन् ।

उनीहरूलाई नेपाल सरकारले अझैसम्म शरणार्थीको दर्जा दिएको छैन । तर, अरु देश प्रवेश गर्न भन्दा नेपाल सहज छ । प्रवेश मात्रै होइन, नेपालमा बस्न पनि उनीहरूलाई सजिलो छ । एक हिसाबमा रोहिंग्या शरणार्थीका लागि नेपाल स्वर्ग नै हो । यहाँ पुलिसले सताउँदैन ।

उनीहरूको दैनिकी सहज छैन । यहाँ पनि गैरनागरिक भएर बसिरहेका छन् । आफ्नो देशबाट लखेटिएर अरुको देशमा अनागरिक भएर बस्नुको पीडा छ, उनीहरूभित्र ।

उनीहरूको बसाइ गतिलो छैन । टिनको छानोमुनि अतिकष्टसँग दैनिकी गुजारिरहेका छन् । विभिन्न श्रमयुक्त काम गरेर परिवार पालिरहेका छन् ।

उनीहरूले नेपालमा पनि काम पाउन सकेका छैनन् । काम पाए पनि मालिकबाट गरिने व्यवहार सम्मानजनक छैन । उनीहरूसँग पीडा छ । गुनासो छ । अनि, आफ्नै सरकारप्रति आक्रोश पनि ।

अल्पसंख्यक भएकै कारण आफ्नै देशबाट लखेटिनु पर्दाको पीडा अनि जुन देशमा शरण लिन गयो, त्यहीँ देशमा समस्या । कुनै सरकार नागरिकप्रति कति निर्मम हुन सक्छ भन्ने एउटा उदाहरण हो, म्यानमार सरकार र त्यहाँका रोहिंग्या सम्प्रदाय ।

स्वदेश फर्कने चाहना

फरक धर्मावलम्बी भएकै कारण स्वदेशमा अन्याय भएपछि परदेशमा शरण मागेर बस्नुपर्दाको दर्दनाक पीडा भोगिरहेका छन्, रोहिंग्या समुदायले ।

म्यानमार सरकारले नागरिकको मान्यतै नदिई शोषण, दमन र अत्याचारको शृंखला बढाएपछि सहनै नसकेर थुप्रै रोहिंग्या बंगलादेश, भारत, थाइल्यान्ड, नेपाललगायत देशमा शरण लिइरहेका छन् । अरु देशमा भन्दा नेपालमा शरणका लागि सहज अनुभव गरिरहेका रोहिंग्याको दुःख चानचुने छैन । 

उनीहरूलाई आफ्नो देशबाट लखेटिने मन हुने कुरै भएन । तर, राज्य निर्मम भएपछि ‘मर्नुभन्दा शरण लिनु ठीक’ लागेर उनीहरू नेपाल आइपुगेका हुन् । उनीहरूलाई नेपालमै यसैगरी बसिरहन मन भने छैन । उनीहरू सकेसम्म छिटो स्देश फर्कन चाहन्छन् । त्यसका लागि नेपाल सरकारले पनि पहल गरिदियोस् भन्ने चाहन्छन् ।

नेपाल सरकारले रोहिंग्यालाई शरणार्थी मानेको छैन । अर्थात् उनीहरूलाई शरणर्थीको सूचीमा सूचीकृत गरेको छैन । आधिकारिक रुपमा उनीहरू नागरिक त भएनन् नै, शरणार्थी समेत हुन सकिरहेका छैनन् । नेपालमा रहेका करिब ६ सय रोहिंग्यालाई म्यानमार सरकारसँग कूटनीतिक पहल गरेर स्वदेश फर्काउन नेपालले पहल गरिदिनुपर्छ ।

नत्र, अहिले शरणार्थीका रुपमा रहेका रोहिंग्या नेपालका लागि पनि अर्को ठूलो समस्याको कारण हुन सक्छ । संसारकै सबैभन्दा अत्याचारमा परेको भनिएको रोहिंग्याबारे दीगो समाधान खोजिनु आवश्यक छ । तत्काल कुनै ठोस पहल नगर्ने हो भने रोहिंग्या नेपाल भित्रने क्रम बढ्ने निश्चित छ ।

को हुन् रोहिंग्या ?

रोहिंग्या म्यानमारको मुस्लिम समुदायका अल्पसंख्यक हुन् । तत्कालीन बेलायती उपनिवेश सरकारले सन् १८२४ मा पश्चिम म्यानमारमा ल्याएर उनीहरूलाई राखेको थियो । बौद्ध धर्मावलम्बीको बहुल्य रहेको म्यानमारमा उनीहरूलाई कृषि मजदुरका रुपमा ल्याइएको थियो ।

बाहिरबाट ल्याएर राखेकै कारण सुरुदेखि नै उनीहरूले दमन र शोषणको सामना गर्नुपर्यो । दोस्रो विश्वयुद्धपछि म्यानमार बेलायती उपनिवेशवाट स्वतन्त्र भयो । त्यसपछि पनि रोहिंग्या त्यहीं बसे । र, क्रमशः मुस्लिम समुदायका रोहिंग्या र म्यानमारका बौद्ध धर्मावलम्बीबीच द्वन्द्व सुरु भयो ।

दोस्रो विश्वयुद्धअघि म्यानमार पुगेकालाई अंगीकृत नागरिकता दिइयो । पछि पुगेकालाई नागरिकता समेत दिइएन । नागरिकता मात्रै होइन, रोहिंग्यालाई तेस्रो दर्जाका मान्छेको व्यवहार गरियो । मुस्लिमविरोधी कानून बनाएर मान्न बाध्य पारिन्थ्यो । पछि सन् १९८२ मा त रोहिंग्यालाई दिइएको अंगीकृत नागरिकता पनि खोसियो ।

रोहिंग्यालाई जबर्जस्त लखेट्ने नीति ल्याइयो । सन् १९९६ पछि बौद्ध धर्मावलम्बी र मुस्लिम धर्मावलम्बीबीचको द्वन्द्व झन् चर्कियो । म्यानमारले रोहिंग्यालाई नागरिक नै मानेन । सन् २०१४ गरिएको जनगणनामा समेत उनीहरूलाई सामेल गरिएन । पछि हरेक अपराधको कारण देखाउँदै म्यानमार सरकारले धमाधम रोहिंग्यालाई मार्न थाल्यो । अत्याचार भएपछि रोहिंग्याले पनि विद्रोह सुरु गरे ।

तर, म्यानमार सरकार र बौद्ध धर्मवालम्बीसँग उनीहरूको केही सीप लागेन । बसेको बस्तीमा बम खस्न थालेपछि, बस्तीमै आगो लाग्न थालेपछि, जहाँ भेट्यो, त्यहीँ गोली हान्न थालेपछि कसरी बस्न सक्नु देशमा ? न काम, न आम्दानी । कसैगरी पनि टिक्न नसक्ने भएपछि उनीहरू भारत, बंगलादेश, थाइल्यान्डलगायतका देशसँगै नेपालमा पनि शरण खोज्न आइपुगेका हुन् ।

तथ्यांकअनुसार अझै म्यानमारमा करिब १० लाख रोहिंग्याको बसोबास छ । र, उनीहरूलाई राज्यले उसैगरी दमन गरिरहेको छ । उनीहरू नेपालमा शरण लिन त आएका छन् तर नेपालको नीतिले उनीहरूलाई शरणार्थी मानेको छैन । र, उनीहरू ‘नेपाल सरकारले नै नागरिकको मान्यता दिए हुन्थ्यो वा आफ्नै देश फर्कन पाए हुन्थ्यो’ भन्ने चाहिरहेका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि