पाल्पा । युवाहरूलाई कृषि व्यवसाय गर्न कृषिमा अनुदान रकम प्रोत्साहनस्वरूप उपलब्ध गराइएको छ । अनुदान रकमले केहीले सही ठाउँमै राम्रै सदुपयोग गरेका छन् त केहीले अनुदान लिनका लागि मात्र व्यवसाय गरेको पाइएको छ । यसबाट राज्यले जुन उद्देश्यले बजेट दिएको छ सोअनुसार सही ठाउँमा उपयोग नभएको रामपुरका कृषकको गुनासो छ । रामपुर नगरपालिका–४ को कार्यालयले आयोजना गरेको कृषकसँगको अन्तक्र्रिया कार्यक्रममा कृषकले अनुदानको ठाउँमा प्रविधिको माग गरेका छन् ।
कृषकलाई अनुदानमुखी नभई प्रविधि सिकाएर व्यवसायमुखी बनाउन सकियो भने कृषि व्यवसायबाट मनग्य ेआम्दानी लिन सक्ने अगुवा कृषक दिलबहादुर थापाले बताए । ‘अनुदानले व्यवसायमुखीभन्दा पनि के पाइन्छ कति पाइएला भन्नेमा मात्र सीमित बनायो, कृषकलाई अनुदानको ठाउँमा खेती गर्ने प्रविधि आवश्यक छ’, उनले भने । विदेशबाट फर्केर तरकारीखेती सुरु गरेका थापाले आफूले खेती गर्ने प्रविधि नजान्दा व्यवसायमा समस्या पर्ने गरेको बताए ।
धेरैजसो कृषकले प्रविधि नबुझेर खेती गर्दा लागत अनुसारको उत्पादन लिन नसकेको अर्का कृषक विनोद श्रेष्ठ बताए । जानी नजानी बिनाप्रविधि व्यवसाय सुरु गर्दा उत्पादन लिन नसकेको श्रेष्ठको भनाइ छ । ‘कृषकले अनुदानमा लोभिएर व्यवसाय गर्दा अनुदान अवधि सकिनेबित्तिकै व्यवसायबाट पलायन भएका छन्, अनुदानभन्दा पनि व्यवसाय गर्ने नयाँ तरिका सिकाउन सके त्यसबाट दीर्घकालीन प्रतिफल लिन सकिन्छ’, उनले भने ।
अन्तरक्रिया कार्यक्रममा सहभागी कृषकले वास्तविक कृषकले सेवा सुविधा नपाउने र टाठाबाठा कृषकको मात्र अनुदानमा हालीमुहाली रहेको बताए । अनुदानमा आफन्त र नजिकका व्यक्तिहररूलाई वास्तविक कृषक पहिचान हुनुपर्ने कृषकको माग छ ।
साना कृषकलाई उपेक्षा र नक्कली कृषकको अनुदानमा हालीमुहाली भएका कारण उत्पादकत्व नबढेको अन्तरक्रियामा सहभागीले बताएका छन् । अब रामपुर नगरलाई समृद्ध बनाउन साना र वास्तविक कृषकको संरक्षण हुनुपर्ने कृषकको सुझाव छ ।
नगरपालिकाले एक वडा एक उत्पादन नीति ल्याएको छ । कृषकलाई आवश्यक पर्ने प्रविधि तथा ज्ञान सीप उपलब्ध गराउने र उत्पादित तरकारीले बजार नपाएमा नगरपालिकाले बिक्रीको प्रबन्ध मिलाइदिने नगर प्रमुख थापाले बताए ।
नगरपालिका तथा वडा कार्यालयबाट कृषि अनुदान सुविधा लिएका कृषकको व्यवसाय अनुगमन गर्ने तथा हौसला प्रदान गर्न कृषि सामग्री, बीउविजन सहयोग र विभिन्न बाली लगाउने तरिका, गोडमेल, उत्पादन र बजारीकरणका सम्बन्धमा कृषि प्राविधिक बोलाएर कृषकलाई तालिम दिने गरेको अध्यक्ष नेपाली बताए ।