जेठ ०७, २०८१, सोमबार
               

नदीनाला बचाउन खोज्दा टिपरले किचेर हत्या

नेपाल फ्ल्यास
पुस २६, २०७६

ADVERTISEMENT

जनकपुर । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलामा अवैध तरिकाले भइरहेको गिट्टी–बालुवा उत्खनन‌को विरोध गर्दै आएका स्थानीय २४ वर्षीय दिलीप भनिने ओमप्रकाश महतोलाई शुक्रबार बिहान टिपरले किचेर मारिएको छ।

औरही खोलाकिनार दुवैतिर स्थानीयको खेत छ। ओमप्रकाशको खेत पनि त्यही छ। साँझ परेपछि यस खोलामा लोडरले उत्खनन गरी गिट्टी–बालुवा यस क्षेत्रमा सञ्चालित क्रसर उद्योगमा पु¥याइन्छ। घर–खेतनजिकैको खोलामा भइरहेको अवैध उत्खननको विरोध गर्दा भाइलाई क्रसरवालाको टिपरले खोलामै किचेर मारेको मृतक ओमप्रकाशका दाइ वीरेन्द्रकुमारले बताए।

प्रत्यक्षदर्शीको जानकारी र घटनास्थल मुचुल्का आधारमा महतोलाई किच्ने ना७ख ६४१३ नम्बरका टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए। टिपर साहु तथा खोला छेवैमा वास प्लान्ट ९क्रसर० सञ्चालन गर्दै आएका सञ्चालकलाई समेत अनुसन्धानको घेरामा ल्याइने उनले बताए।

रामजीवन महतोको जेठा छोरा थिए ओमप्रकाश। गाउँमा उनलाई दिलीप भनेर बोलाइन्थ्यो। उनी मेकानिकल इन्जिनियरिङका विद्यार्थी थिए। गाउँछेउमा रहेको औरही खोलामा भइरहेको अवैध उत्खननप्रति उनी असन्तुष्ट थिए। उनले उत्खननको विरोधमा युवालाई एकत्रित पारेर रोक्न लगाउँथे। पोहोर पनि उनको नेतृत्वमा युवाले सो खोलामा भइरहेको उत्खनन रोकेको स्थानीय रामपुकार साहले बताए।

दाजु वीरेन्द्रकुमारका अनुसार पोहोर खोला खन्नेहरूले दिलीपलाई पाँच लाखसम्मको मोटरसाइकल किनिदिने प्रलोभन दिँदासमेत उनले मानेनन्। माफियाले पहिला लोभ्याउँदा नमानेपछि ‘जे पनि हुनसक्छ’ भन्दै धम्क्याएका थिए। ‘पोहोर धम्क्याएका थिए, अहिले मारिदिए,’ वीरेन्द्रले भने, ‘अवैध उत्खनन गर्ने माफियाले हत्या गरेर दुर्घटनाको रूप दिन खोजेका छन्।’

यसरी भयो घटना

शुक्रबार बिहान ४ बज्दै थियो। दिलीप महतो, रोशन यादव र वडा नम्बर ५ का अध्यक्ष श्याम यादवसँगै खोलातर्फ मर्निङ वाकमा निस्केका थिए। सडकमा आएपछि अध्यक्ष श्यामलाई धर्मेश्वर महतोले फोन गरे। धर्मेश्वरले श्यामलाई अतालिँदै भने, ‘मेरो घरअगाडि एकजना अपरिचित व्यक्ति मोटरसाइकलमा छ।’

वडाध्यक्ष श्याम धर्मेश्वरको घरतर्फ लागे। दिलीप र रोशन खोलातर्फ बढे। रोशनलाई सन्चो नभएकाले उनी बिस्तारै हिँड्दै थिए। दिलीप उनलाई उछिनेर खोलामा पुगे । पछिपछि आउँदै गरेका रोशन खोलानजिक पुग्दा दिलीपलाई टिपरले किचिसकेको थियो।

वडाध्यक्ष श्यामले भने, ‘रोशन अतालिँदै कृष्णा भन्नेलाई फोन गरेर मलाई घटना जानकारी गराउन लगाएका थिए। जानकारी पाएलगत्तै खोला पुग्दा गाडी (टिपर) हिँड्ने लिक (बाटो) मा दिलीपको मृत शरीर थियो। चिच्याएर मान्छे जम्मा गरें। इन्सपेक्टर साबलाई घटना जानकारी गराएँ। खोलामा सञ्चालित क्रसर र अवैध उत्खननको विरोध गर्ने दिलीपलाई माफियाहरू मिलेर हत्या गरे।’

श्यामका अनुसार खोला किनारमा विपीन महतोले क्रसर उद्योग सञ्चालन र बेचन शर्माले खोलामा उत्खनन गर्दै आएका छन्। मेसिन (लोडर) प्रयोग गरेर भइरहेको अवैध उत्खनन रोक्न प्रहरी–प्रशासन र नगरपालिका मौन बस्दा निर्दोष युवक हत्याको सिकार हुनुपरेको अनिरुद्र महतोले बताए। ‘राज्यले रोक्नुपर्ने अवैध तथा गैरकानुनी धन्दा एक युवकले रोक्न खोज्यो,’ उनी भन्छन, ‘तर राज्यबाट सुरक्षा र संरक्षण नपाउँदा माफियाबाट मारियो।’ यो खबर नागरिक दैनिकमा छापिएको छ।


कस्तो लाग्यो ?

यो पनि