डोल्पा : डोल्पाका अधिकांश विद्यालयमा नयाँ स्थायी नियुक्ति बुझेर पदस्थापन भएका शिक्षकले आफूले पढाउने विद्यालय नै नपुगी तलब बुझेका छन् । एक वर्षपहिले शिक्षा सेवा आयोगको परीक्षामा उत्तीर्ण भई सिफारिस भएका ६७ मध्ये अधिकांश शिक्षकले आफू पदस्थापन भएको विद्यालयमा नै नपुगी तलबभत्ता बुझेका हुन् ।
गत वर्ष कात्तिक २४ गते स्थायी नियुक्ति लिएका उनीहरू विद्यालय जान छाडेर घरतिर लागेको खुलेको छ । विद्यालय नपुगी तलब खानेहरूमा प्राथमिक तहका शिक्षक धेरै रहेका छन् ।
कात्तिक २५ गतेदेखि लागू हुनेगरी २०७७ वैशाखसम्मको तलबभत्ता बुझेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ डोल्पाले जनाएको छ । उपल्लो डोल्पाका विभिन्न विद्यालयमा पदस्थापन भएका १८ जना शिक्षक विद्यालय नपुगी नै नियुक्तिका साथै तलबभत्ता बुझेर घरतिर लागेका हुन् । अत्यधिक जाडोका कारण उत्तरी सीमा क्षेत्रमा रहेका तीन स्थानीय तहका सम्पूर्ण विद्यालय बन्द भएक छन् ।
ती विद्यालयमा पदस्थापन भएका शिक्षक सदरमुकाम दुनैमा रहेका गाउँपालिकाको सम्पर्क कार्यालय र शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयमा एकमुष्ट हाजिर गरेर घरतिर लागेको शिक्षा समन्वय एकाइ प्रमुख सिंहराज डाँगीले बताए ।
उपल्लो डोल्पामा रहेका डोल्पोबुद्ध, छार्काताङसोङ र सेफोक्सुन्डो गाउँपालिकाका विद्यालयमा कात्तिकको दोस्रो सातादेखि नै अत्यधिक चिसोले विद्यालय बन्द हुने गर्छ । जसकारण शिक्षकहरू विद्यालय नपुगेरै घर लागेका हुन् ।