काठमाडौं : भारतीय नक्साले यतिबेला नेपालमा खैलाबैला भएको छ । राजनीतिकहरु कसरी आफ्नो भूमि फिर्ता लिने भन्ने रणनीतिमा छन् । यसै क्रममा भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे जंगीअड्डामा गहन छलफल भएको छ । नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा विभिन्न दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली सेनाले चासो देखाएको हो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली भूभागको रक्षामा सुरक्षाकर्मी चुक्न नहुने भन्दै अन्य तीन सुरक्षा निकायका प्रमुखसँग छलफल चलाएका हुन ्। नेपाली भूभागमा रहेको भारतीय सुरक्षाकर्मीलाई फिर्ता पठाउने र अन्य सीमा पनि सुरक्षित गर्न कूटनीतिक एवं रणनीतिक तयारीमा पनि सेना अग्रसर भएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा पाँच दशकदेखि भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेकामा कसरी फिर्ता पठाउने भन्ने विषयमा जंगीअड्डामा सुरक्षा प्रमुखबीच बहस भएको सैन्य उच्च स्रोतले बताएको अन्नपूर्ण पोस्टले लेखेको छ ।
प्रधानसेनापति थापाले सुरक्षा निकायका प्रमुखसँग पछिल्लो सुरक्षा अवस्था र सहकार्यबारे छलफल राखेको भए पनि भारतीय सीमा अतिक्रमणबारे बहस भएको एक सुरक्षा अधिकारीले बताए । ‘प्रधानसेनापति थापाले उपनिर्वाचन र सार्क मुलुक सम्मिलित खेलकुद (साग)को सुरक्षालगायतमा छलफल गर्न जंगीअड्डामा बोलाएका थिए’, ती सुरक्षा अधिकारीले भने, ‘तर, छलफल समग्र सुरक्षा विषयमा भयो । अमेरिकाले निकालेको प्रतिवेदनदेखि भारतीय सुरक्षाकर्मीले सीमामा गरेको अतिक्रमणसम्मको छलफल भयो ।’
प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल पनि जंगीअड्डा पुगेका थिए । सेनाका प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डेले सुरक्षा निकायको छलफल भएको स्वीकार गरे पनि त्यसलाई नियमति भने । ‘यो नियमित छलफल हो’, प्रवक्ता पाण्डेले भने, ‘उपनिर्वाचन, साग र समग्र सुरक्षा अवस्थाबारे नियमित ब्रिफिङ भएको हुनुपर्छ ।’