नेपालमा अहिले नयाँ तरङ्ग छ । त्यो तरङ्ग राजनीतिको होइन । नेपालको कानुनले प्रतिबन्धित भनेको गाँजाको तरङ्ग हो ।
कोही कलाकार गाँजाकै कारण प्रहरी फन्दामा परेका छन् । तर यति नै बेला कानुन पालना गराउने दल नेकपाका प्रदेश ३ का सांसद केशव स्थापित भने गाँजाको पक्षमा उभिएका छन् । अनौठो त के भने स्थापितले जसे गाँजाको विरोध गर्छन् ती सामन्तवादी भएको र गरिबको प्रगतिका बाधक रहेको आरोप लगाएका छन् ।
नेकपाका प्रदेश सांसद केशवराज पाण्डेले शुक्रवार काठमाडौँमा गरेको चियापान कार्यक्रममा स्थापितले गाँजा खेतीबाटै गरिब नेपाली जनतालाई करोडपति बनाउने योजनासमेत सुनाए ।
उनले हरेक घरपरिवारले आफ्नो खाली पाखावारिमा गाँजा खेती गर्नुपर्ने धारणा राखे । गाँजा सेवन औषधि भएको भन्दै उनले गाँजा खान उत्प्रेरित नगरे पनि उत्पादन गर्न भने सरकारले छुट दिनुपर्ने धारणा राखे । राज्यले गाँजा खेतीलाई व्यवस्थित गरेमा वर्षनि खर्वौँ रुपैयाँको आम्दानी हुने उनको भनाइ थियो ।
गाँजा खेतीको यतिसारो चर्चा गरिरहँदा गाँजासमेतलाई प्रोत्साहित गरेको अभियोगमा
र्यापर भिटेन अर्थात् समीर लामा घिसिङलाई प्रहरीले कारबाही गरेको छ । उनलाई गिरफ्तार गरी युट्युबबाट हामी त यस्तै त हो नि ब्रो बोलेको गीत हटाएपछि उनलाई रिहा गरिएको छ ।
उता अर्का गायक दुर्गेश थापालाई पनि प्रहरीले बोलाएर गाँजा र बियर खान प्रेरित गर्ने तिहार गीत युट्युबबाट हटाउँदै माफी माग्न लगाएर छोडेको छ । अहिले उनले त्यो गीतलाई संशोधन गरेर युट्युबमा अपलोड गरेका छन् ।
उता एक टेलिभिजन अन्तर्वार्तामा आफूले गाँजा सेवन गर्ने बताएपछि हास्य कलाकार दिपकराज गिरी विवादमा परेका छन् । उनले गाँजा औषधि भएको र आफूले सुटिङ सकेपछि एक स्टिक गाँजा तान्ने गरेको सगर्व भनेका थिए । उनलाई प्रहरीले खोजी गरेपछि युट्युबमा रहेको सामग्री संशोधन गरिएको थियो ।
यस्तो माहोलबीच नेकपामा प्रदेश सांसद स्थापितले भने खुलेर गाँजाको प्रवर्द्धन गरेका छन् । भिडियो नै सार्वजनिक भइसक्दा पनि उनीविरुद्ध प्रहरीले कारबाही गर्छ कि गर्दैन त्यो भने हेर्न बाँकी नै छ ।