फिरौती र संगठित अपराधमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापा वादलका भाई नरेश रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतले आज उनलाई रिहा गरेको हो । पक्राउ परे पनि उनी उपचारको वहानामा अस्पतालमा बस्दै आएका थिए ।
आपराधिक गिरोहसँगको मिलेमतोमा निर्माण व्यवसायीलाई टेलिफोनबाट रकमी असुलीका लागि धम्क्याएको आरोपमा प्रहरी उनलाई पक्राउ गरेको थियो ।
अदालतले उनलाई पर्याप्त प्रमाण नपुगेको भनी अनुसन्धानका लागि हिरासतमा राखिरहन नपर्ने भनी एक लाख रुपैयाँ धरौटी लिएर छोड्ने आदेश दिएको थियो ।
जेलमा रहेका निर्माण व्यवसायी शरद गौचनको हत्याका प्रमुख अभियुक्त समिरमानसिंह बस्नेतसँग नरेशको सम्पर्क रहेको देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
अदालतको आदेशपछि प्रकिया पूरा गरेर नरेश बुधबार नै छुटेका छन् । अदालतले नरेशबाहेकका पाँच जना अभियुक्तलाई भने थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।