फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै इन्कारी बयान दिएका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोसँगको बयानमा थापाले बस्नेतलाई नचिनेको दाबी गरेका छन् । तर, केन्द्रीय कारागारको सुरक्षार्थ खटिएका इन्सपेक्टर विपिन ओझाले भने नरेशले बस्नेतसँग जेलभित्रै भेटेको आफूले देखेको बयान दिएका छन् ।
कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेको समाचारमा ब्युरोसँगको बयानमा नरेशले फिरौती संकलन धन्दाका आठ आरोपितमध्ये तीन जनालाई चिनेको बताएका छन् ।
जेलभित्रैबाट निर्माण व्यवसायी र व्यापारीलाई धम्क्याएर रकम असुल्ने समीरमान बस्नेतको योजनामा साथ दिएको आरोपमा नरेशसहित आठ जनाको काठमाडौँ जिल्ला अदालतमा बयान जारी छ ।
इन्कारी बयान दिए पनि प्रहरीकै पहुँचमार्फत् थापाले कारागारभित्र कडा सुरक्षा घेरामा राखिएका बस्नेतलाई भेटेको अनुसन्धानले देखाएको छ ।